डीआईजी बिनोद घिमिरेद्धारा सुनसरी प्रहरीको निरीक्षण : चुनौती सहज रूपमा सामना गर्न निर्देशन

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्दै कठीन परिस्थिति र चुनौतीहरूलाई सहज रूपमा व्यवस्थापन गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

बुधवार निरीक्षण भ्रमणका क्रममा डीआईजी घिमिरेले कार्यालयका सम्पूर्ण शाखाहरू, सम्बन्धित इकाईहरू तथा उपस्थित प्रहरी अधिकृत र जवानसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आवश्यक निर्देशन दिएका थिए।

बिज्ञापन

उनले कुनै पनि दबाब, प्रभाव वा प्रलोभनमा नपरी व्यक्तिगत हितभन्दा माथि उठेर संगठनको गरिमा जोगाउँदै नागरिकमैत्री प्रहरी सेवा प्रभावकारी रूपमा प्रदान गर्न निर्देशन दिए। दैनिक काम–कारबाहीलाई चुस्त–दुरुस्त बनाउँदै शान्ति–सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन उनको जोड थियो।

खुला सीमा र कोशी क्षेत्रको भौगोलिक विशेषताका कारण हुने चोरी–तस्करी, लागूऔषध ओसार–पसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा कडा चेकजाँच र निगरानी व्यवस्था अपनाउन उनको निर्देशन थियो।

त्यसैगरी, कार्यालयमा आउने सेवाग्राहीको पिरमर्कालाई प्राथमिकतामा राखी प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गर्न समेत उनले आग्रह गरे।

ग्रामीण तथा भित्री बस्तीका नागरिकको समस्या तथा गुनासाका सुनुवाइलाई प्रभावकारी बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ सक्रिय बनाउने र आगामी निर्वाचनलाई सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गराउन जिम्मेवार ढंगले काम गर्न उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवेले जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाबारे प्रदेश प्रमुख घिमिरेलाई जानकारी गराएका थिए।