
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । पाँचौ खेलमा आज चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

जनकपुरले यसअघिका सुरुआती ४ खेलमा लगातार हार बेहोरेको थियो ।

पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै खाता खोलेको छ । जनकपुरले प्लेअफको सम्भावना भने कायम राखेको छ । चितवन भने ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।


चितवनसँगको जितमा आज माज सदाकत र अनिल शाहको अर्धशतक प्रहार गरे । पाकिस्तानी युवा अलराउण्डर माजले ६३ रन बनाए । उनले ३० बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरी ६३ रन जोडे ।
त्यस्तै, आज अनिल शाहले पनि सानदार ब्याटिङ गरे । उनले ६१ रन बनाए । अनिलले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । आसिफ शेखले १७ बलमा १८ रन बनाए । आदित्य महताले अविजित १८ रन जोडे ।
बलिङमा चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेलाले १–१ विकेट लिए ।
यसअघि राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो ।
जसमा ओपनरद्वय डेविड मलान र अर्जुन साउँदले अर्धशतक हिर्काए । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे । यी दुवै ब्याटरबीच ११२ रनको शतकीय साझेदारीसमेत भयो ।
जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक/एक विकेट लिए ।
आजै अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।


