
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता घोषणा गरिएको छ। काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणासभामा दुई दलका नेताहरूले एकता समझदारीमा हस्ताक्षर गरेका छन्। रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले, तथा विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका हुन्।

एकीकरणको पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखिनेछ र यसका प्रमुख चुनाव चिन्ह तथा झण्डा साविककै ‘घण्टी’ र निलो पृष्ठभूमिमा सेतो गोलाकार रहने छन्। एकतासँगै, वैकल्पिक राजनीतिको प्रवर्द्धन र स्व. उज्वल थापाको योगदानलाई सम्मान गर्ने सहमति पनि भएको छ। साथै, एकीकरण पश्चात् दलका सदस्यहरूलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा समायोजन गरि जिम्मेवारी तोक्ने योजना पनि छ।





