मिलन सी समूहद्वारा विप्लव नेकपा परित्याग, माओवादी केन्द्रसँग वाम एकताको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गम्भीर विभाजन भएको छ। पोलिटब्युरो सदस्य मिलन सीको नेतृत्वमा रहेका नेताहरूले पार्टी परित्याग गर्दै माओवादी केन्द्रसँग एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्।

काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलापछि आज आयोजित पत्रकार सम्मेलनमार्फत मिलन सी नेतृत्वको समूहले समाजवादी मोर्चाभित्रका सबै कम्युनिस्ट तथा समाजवादी शक्तिहरूबीच ऐतिहासिक पुनर्मिलनको सुरुवात भएको घोषणा गरेको हो।

बिज्ञापन

पत्रकार सम्मेलनमा मिलन सीले भने, “हामीले वाम एकता र समाजवादी पुनर्गठनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न नयाँ यात्राको थालनी गरेका छौँ। पार्टीभित्र बहुमत—करिब ९० प्रतिशत स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरू—एकताको पक्षमा छन्, तर महासचिव विप्लव अन्तिम समयमा पछि हटेपछि हामी विद्रोह गर्न बाध्य भयौँ।”

उनका अनुसार माओवादी केन्द्रसँगको एकता केवल संगठनात्मक पुनर्संरचना नभई जनआन्दोलनलाई नयाँ ऊर्जासहित अघि बढाउने ‘क्रान्तिकारी मोर्चा’ को सुरुवात हो। उनले यसलाई “क्रान्तिकारी वाम शक्तिहरूबीचको ऐतिहासिक पुनर्मिलन” भन्दै चित्रण गरे।

पार्टी स्रोतका अनुसार अब दुवै पक्षले संयुक्त राजनीतिक दस्तावेज तथा नयाँ संरचनात्मक रूपरेखा तयार गर्ने गृहकार्य सुरु गरिसकेका छन्। केही दिनमै शीर्ष नेताहरूबीच औपचारिक सहमति र संयुक्त घोषणा हुने तयारी भइरहेको छ। पछिल्ला महिनाहरूमा विप्लव समूह र माओवादी केन्द्रबीच वाम एकता विषयमा निरन्तर संवाद चल्दै आएको थियो।

पत्रकार सम्मेलनमा मिलन सीले पछिल्लो ‘जेन जी आन्दोलन’ बारे पनि धारणा राखे। उनले भने, “जेन जी आन्दोलन कुनै निश्चित दर्शन वा पार्टीद्वारा सञ्चालन गरिएको होइन। यो स्वतःस्फूर्त रूपमा नयाँ पुस्ताले नेतृत्व गरेको विद्रोही चेतनाको विस्फोट हो। २३ गतेको राज्य दमनपछि जेन जी पुस्ता भड्कियो, २४ गतेसम्म सिङ्गो देश आन्दोलनको प्रभावमा आयो। भ्रष्टाचार, कालोबजारी, तस्करी, लुट, खसौट र सञ्चारमाथिको अंकुश—यी सबै मुद्दा जेन जी पुस्ताले उठाएका छन्, र ती सबै न्यायसंगत छन्।”

कार्यक्रममा पार्टीका प्रवक्ता जितेन्द्र सीले कार्यक्रम सञ्चालन गर्दै पत्रकारहरूलाई प्रेस विज्ञप्ति समेत पढेर सुनाए।

राजनीतिक विश्लेषकहरूका अनुसार मिलन नेतृत्वको समूहले उठाएको यो कदमले विप्लव नेतृत्वको नेकपामा ठूलो धक्का पुर्‍याएको छ। यदि चाँडै माओवादी केन्द्र र मिलन समूहबीच औपचारिक एकता घोषणा भयो भने, यो नेपालका वाम शक्तिहरू पुनर्गठनतर्फ निर्णायक मोड बन्न सक्ने विश्लेषण गरिएको छ।