देशभर बदली, वर्षा र हिमपातको प्रभाव बढ्दै

 

काठमाडौँ — पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभावले आज देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन

आज बिहान देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भएको छ। दिउँसो र राति पनि ती प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने र गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यससँगै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम र कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले वर्षा र हिमपातका कारण जनजीवन र यातायातमा प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।