विविध कार्यक्रम साथ काभ्रेमा मानव बेचविखन विरुद्धको दिवस मनाइयो

भकुण्डेबेसी

नमोबुद्ध नगरपालिकाले २०८२ भदौं १९ गते मानव बेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको सन्दर्भमा एक दिवसिय छलफल कार्यक्रमको आयोजना गरेको छ ।
‘तिनै तहको सरकारसँग मिलि गरौं हातेमालो हटाऔं मानव बेचविखन दुश्चक्रको जालो’ भन्ने नाराका साथ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मानव बेचबिखन विरुद्धको जिल्ला समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।
नगर समितिका संयोजक तथा नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले मानव बेचविखनको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडा नम्बर ७ का वडाध्यक्ष धर्मसिं लामा र महिला समूहकी अगुवा देवकी खनालले मन्तव्य राख्नु भएको थियो ।
महिला तथा बालवालिका शाखा पमुख तारादेवी सुनुवारले संचालन गरेका कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक माधव रेग्मी, प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक इश्वर कार्की, वडाध्यक्षहरू, महिला सहकारी, सामुदायिक परिचालक, नगर युवा परिषद्, शाखा प्रमुखहरू, स्वावलम्बन सहायता समूह, माइती नेपाल, इन्सेक र रिमरेकका प्रतिनिधि, स्थानीय प्रहरी चौकीका प्रतिनिधि, कलेजका विद्यार्थी र पत्रकारहरूको सहभागिता थियो ।

बिज्ञापन

धुलिखेल
धुलिखल नपा–५ स्थित श्रीखण्डपुर माविका विद्यार्थीलाई भदौं १८ गते मानव बेचविखन विरुद्ध सचेतना कार्यक्रम संचालन भयो । विद्यालयका प्रधानाध्यापक जुजुभाई मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले बालअधिकार, कर्तव्य र मानव बेचविखनका विषयमा शत्र संचालन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्र, माइती नेपाल, इन्सेक लगायतका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा करिव पाँच सय विद्यार्थीको सहभागिता थियो ।

बनेपा
बनेपामा रहेको आर्दश विद्या मन्दिर (एविएम स्कूल) र बनेपा आर्दश बहुमुखी क्याम्पसले मानव बेचविखन बिरुद्ध राष्ट्रिय दिवसका दिन अर्थात भदौं २० गते विहान एक सचेतना कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्ले, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वाती, मानवअधिकार रक्षक भोजराज तिमल्सिना, बनेपा आर्दश क्याम्पसका क्याम्पस प्रमुख तिर्जराज दाहाल, माइती नेपालकी जिल्ला संयोजक गायत्री गौतम, विद्यार्थी कल्याण परिषद्का अध्यक्ष आयुष न्यौपाने लगायतले मानव बेचविखनको अवस्थाका विषयमा आफ्नो धारणा राखेका थिए । विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत करिब चारसय विद्यार्थीको सहभागिता थियो ।

धुलिखेल
मानव बेचविखन विरुद्धको जिल्ला समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा भदौं २० गते जिल्ला समन्वय समितिको हलमा एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । अन्र्तक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाह र मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले मानव बेचविखनको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक माधव रेग्मी, महिला अधिकारकर्मीहरु, माइती नेपाल, इन्सेक, कलेजका विद्यार्थी र पत्रकारहरूको सहभागिता थियो ।

धुलिखेल
धुलिखेल नपा–७ मा रहेको पुरानो स्कूल संजीवनी माविमा २०८२ भदौं २० गते मानव बेचविखन विरुद्वको राष्ट्रिय दिवस एक अभिमूखीकरण कार्यक्रम गरी सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल टंक थापाको अध्यक्षतामा भएको कार्यक्रममा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई सहभाग गराइएको थियो । अभिमूखीकरणमा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले मानव बेचविखनको अवस्थाका विषयमा जानकारी गराउनु भएको थियो ।