

बेथानचोक गाउँपालिका वडा नं. ४ मा निर्मित सिद्धेश्वर महादेव मन्दिरको उदघाटन भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बिच मन्दिर उद्घाटन गर्नुभयो ।
बेथानचोक गाउँपालिकाको वहुवर्षीय कार्यक्रम अन्तर्गत १२ लाख लागतमा बनेको सो मन्दिर वडाको सोली थुम्कामा बनेको हो । मन्दिरमा १ लाख १६ हजारको चतुर्मुख शिवलिङ्ग राखिएको छ । सो शिवलिङ्ग स्थानीय बुद्धिमाया तामाङले प्रदान गर्नु भएको वडा अध्यक्ष कृष्णबहादुर लामाले जानकारी दिनुभयो ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले स्थानीय कला, धर्म, संस्कृति र सम्पदाको संरक्षण, संवद्र्धन र निर्माणमा गाउँपालिकाले योगदान दिँदै आएको बताउनु भयो । बनेका सम्पदा संरक्षणमा स्थानीयको पनि उत्तिकै भूमिका भएकोले गाउँपालिका भित्रका सम्पदा संरक्षणमा सबैले हातेमालो गर्नु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुबेर ढकालले विपत्पछि बेथानचोक पुनः उठेकोले विकास निर्माणले गतिलिँदै जाने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै ४ नं. वडा अध्यक्ष कृष्णबहादुर तामाङले बहुजाति बहुभाषीको बसोबास रहेको वडा नं. ४ मा उल्लेख्य मात्रामा मठमन्दिर र गुम्बाहरु रहेकोले वडा नं. ४ धार्मिक पर्यटनको गन्तव्य बन्ने बताउनु भयो । असोज महिनामा आएको बाढी पहिरोले वडा नं. ४ लाई गम्भीर धक्का पुगेकोले विकासले सोचे अनुसारको गति लिन नसकेको आफैलाई दुःख लागे पनि जनताले महसुस गर्नेगरी काम गर्दै जाने प्रतिवद्धता जनाउनु भयो ।



कार्यक्रममा वडा सदस्यहरु दिलकुमारी तामाङ, कर्ण तामाङ, चन्द्रबहादुर नगरकोटी, पूर्व वडा अध्यक्ष लालबहादुर श्रेष्ठ न्यायिक शाखा प्रमुख श्रीकृष्ण तिमल्सिना, प्राविधिक दिपक प्रसाद हुमागाई, दलीय प्रतिनिधिहरु प्रेमप्रसाद श्रेष्ठ, भुवन कार्की तगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
