



काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमा पदको लालसा नभएको स्पष्ट पार्दै बाँकी जीवन देश र जनताको सेवामा समर्पित गर्ने उद्देश्यले राजनीतिमा फर्किएको बताएकी छिन्।



बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्र र जनताको सेवा गर्नु कुनै अनौठो वा आपत्तिजनक कुरा नभएको उल्लेख गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘विधिसम्मत तरिकाले पार्टी सदस्यता नविकरण गरिसकेको छु। यसलाई विवादको विषय बनाउनु आवश्यक छैन। राष्ट्रको सर्वोच्च पदमा पुगिसकेको नाताले मलाई कुनै पदप्रति लालसा, महत्वाकांक्षा वा आशक्ति छैन। अबको जीवन देश र जनताको सेवामा समर्पित गर्ने हो।’
उनले आफ्नो उद्देश्य नेकपा (एमाले) को साधारण सदस्यका रूपमा पार्टीलाई सशक्त, सुदृढ र एकताबद्ध बनाउँदै राजनीतिक माध्यमबाट देश र जनताको सेवा गर्ने रहेको बताइन्।
एमालेले उनलाई सक्रिय राजनीतिमा फर्कन रोक लगाएपछि भण्डारीले सार्वजनिक रूपमा धारणा व्यक्त गर्दै पहिलोपटक पत्रकार सम्मेलन गरेकी हुन्।
साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीति गर्न नपाउने निर्णय गरेको थियो। त्यसपछि पार्टीले उनको सदस्यता पनि खारेज गरेको थियो। सोही निर्णयप्रति प्रतिक्रिया दिँदै भण्डारीले आफ्नो पक्ष सार्वजनिक रूपमा स्पष्ट पारेकी हुन्।