“धर्म र राजनीति”
सन्तोष बजगाई
काभ्रेपलान्चोक / धर्म र राजनीति परस्पर सम्बन्धित विषय हुन् भन्ने कुरा वैदिक कालदेखि प्रमाणित हुँदै आएको छ। तर आजको आधुनिक सन्दर्भमा यी दुई विषय एक अर्काको विरोधी झैं प्रस्तुत गरिन थालेका छन्। धर्मलाई व्यक्तिगत आस्था वा पूजापाठमा सीमित गरेर हेर्ने प्रवृत्तिले राजनीति धर्मविहीन बन्दै गएको छ, जसको प्रत्यक्ष असर नीति, नैतिकता र सामाजिक सेवा भावनामा परेको देखिन्छ।
धर्म भन्नाले कुनै जाति वा सम्प्रदायको सीमित आस्था मात्रै नभई सत्य, न्याय, संयम, क्षमा, दया, सेवा र त्यागजस्ता मानवीय मूल्यहरूलाई जनाइन्छ। धर्मले जीवनलाई मर्यादित बनाउँछ, व्यक्ति र समाजलाई अनुशासित गर्छ। यसै कारण वैदिक कालदेखि नै धर्म र राज्य सञ्चालन एकअर्काको अभिन्न अङ्ग मानिँदै आएका छन्।
राजनीतिक शास्त्रका प्रारम्भिक ग्रन्थहरूमा राजधर्मलाई नै राष्ट्र सञ्चालनको मूल आधारको रूपमा चित्रण गरिएको पाइन्छ। मनुस्मृतिदेखि कौटिल्य अर्थशास्त्रसम्ममा राजालाई धर्मको संरक्षकको रूपमा वर्णन गरिएको छ। महाभारत र रामायणजस्ता ग्रन्थहरूमा राजनेताहरूले धर्मका आधारमा राज्य सञ्चालन गरेका दृष्टान्त पाइन्छ। भगवान् रामले आदर्श धर्मराजा भएर “रामराज्य” को स्थापना गरे भने श्रीकृष्णले धर्म स्थापनाका लागि रणनीतिसहितको राजनीति अभ्यास गरे।
धर्म र राजनीति यी दुई शब्द आजको युगमा प्रायः एक अर्काका विरोधी झैँ प्रस्तुत गरिन्छन्। तर वैदिक दर्शनमा धर्म र राज्य एक अर्काका अभिन्न अङ्ग हुन्। जहाँ धर्म छ, त्यहाँ न्याय हुन्छ; र जहाँ न्याय छ, त्यहाँ समुन्नति हुन्छ। धर्म बिना राजनीति अधर्म र अत्याचारमा परिणत हुन्छ भने राजनीति बिना धर्म मात्र उपदेशमा सीमित हुन्छ।
धार्मिक ग्रन्थहरूले समेत राजनीतिक धर्मको समर्थन गर्छन्। श्रीमद्भागवत गितामा भगवान् श्रीकृष्णले स्पष्ट भनेका छन् — “धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे।” यसको अर्थ धर्मको संरक्षण र अधर्मको विनाशका लागि भगवानको अवतार हुने गर्दछ। यसको सीधा सन्देश यही हो कि जब राजनीति धर्मविहीन हुन्छ, तब अधर्म फैलिन्छ र समाज संकटमा पर्छ।
आजको समयको राजनीति हेर्दा धर्मको अभाव स्पष्ट देखिन्छ। सत्ता प्राप्तिका लागि हुने हतारो, नीति र नैतिकताको पतन, जनताको सेवा होइन व्यक्तिगत लाभको उद्देश्य, भ्रष्टाचार, वैमनस्य, द्वेष र सामाजिक विघटन यी सबै धर्मविहीन राजनीतिक प्रवृत्तिका परिणाम हुन्।
मात्मा गान्धीजीले भनेका थिए, “राजनीति यदि धर्मविहीन भयो भने त्यो शैतानको हातमा भएको छुरीजस्तै हुन्छ।” उनी रामराज्यको कल्पनामा आधारित राजनीतिक दर्शनका पक्षपाती थिए। उनका लागि धर्म भनेको सत्य, अहिंसा, करुणा र आत्मबल थियो जसले राजनीति शुद्ध पार्छ।
चाणक्यले समेत आफ्नो अर्थशास्त्रमा राजधर्मको उल्लेख गर्दै भनेका छन् “धर्मस्य मूलं अर्थः, अर्थस्य मूलं राज्यम्।” जसको अर्थ राजनीतिले धर्मलाई आधार बनाएर नै अर्थ, न्याय र समता कायम गर्न सक्छ। धर्म विहीन राज्य व्यवस्था क्षणभरमै असफल हुन्छ।
आजको युगमा राजनीति धर्मबाट टाढा हुँदै गएको छ। धार्मिक मूल्य जस्तो लाग्ने तर व्यवहारमा त्यस्ता मूल्यहिन प्रवृत्तिहरूले समाजमा असमानता, विभाजन र हिंसा सिर्जना गरिरहेका छन्। धर्मको नाममा राजनीति गर्ने धेरै नेताहरू व्यवहारमा न त धार्मिक देखिन्छन्।
धर्म र राजनीति बिचको सन्तुलन कायम राख्न आजको आवश्यकता हो। धर्मले राजनीति शुद्ध गर्छ भने राजनीति धर्मको सामाजिक कार्यान्वयनको माध्यम हो। यदि राजनीतिमा सत्य, दया, करुणा, सेवा र आत्मसंयमजस्ता धार्मिक मूल्यहरू समावेश गरियो भने मात्र समाजमा न्यायपूर्ण शासन, समता र समृद्धिको सम्भावना देखिन्छ।
राजनीतिमा धर्मको मूल्य समेट्न नसक्दा समाज अधोगतितर्फ उन्मुख भएको छ। यसैले, वैदिक परम्पराको आदर्शलाई पछ्याउँदै वर्तमान राजनीतिक नेतृत्वले धर्मका सार्थक मूल्यहरूलाई आत्मसात् गर्नु आवश्यक छ। धर्मसंगत राजनीतिको अभ्यास नै दिगो विकास, सामाजिक न्याय र राष्ट्र निर्माणको आधार बन्न सक्छ।
निष्कर्ष
धर्म र राजनीति एक अर्काका पूरक हुन्। धर्मले राजनीति शुद्ध बनाउँछ, र राजनीति धर्मको व्यवहारिक रूप हो। भारतवर्षको वैदिक परम्परा, रामायण, महाभारत, गीता र आधुनिक राष्ट्रपिता गान्धीले समेत यो समन्वयको महत्व दर्शाएका छन्।
यदि वर्तमान राजनीतिको मार्गदर्शक धर्म भयो भने, हिंसा होइन, संवादको राजनीति सम्भव हुन्छ; स्वार्थ होइन, सेवा मूलक शासन सम्भव हुन्छ।