काठमाडौं, जेष्ठ ३१: बिश्व रक्तदाता दिवसको अवसर पारेर ॐ समाज डेन्टल अस्पताल, बन्स्थली शाखाले आज काठमाडौँको माछापोखरी चोकमा आयोजना गरेको नि:शुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बिहान ७ बजेबाट सुरु भई ११ बजेसम्म सञ्चालन भएको कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा नि:शुल्क दन्त परीक्षण, दाँत सफा (अस्पतालमै), रक्तदान, र अन्य सेवामा विशेष छुट जस्ता सेवा प्रदान गरिएका थिए।
कार्यक्रमबारे जानकारी दिँदै ॐ समाज डेन्टल बन्स्थली शाखाकी शाखा प्रमुख सबिना पापन गुरुङले भनिन्:
“हामीले दन्त सेवा सुलभ बनाउन र जनचेतना फैलाउन यस्ता शिविर सञ्चालन गर्दै आएका छौं। समुदायको सहभागिता उत्साहजनक रह्यो।”
त्यसैगरी सहआयोजक तारकेश्वर क्लब ६० का अध्यक्ष राजन थापाले भने:
“सामाजिक उत्तरदायित्व अन्तर्गत हामी यस्ता स्वास्थ्य सेवामा सधैं साथ दिनेछौं। आजको कार्यक्रम सफल हुनु सबैको सहकार्यको नतिजा हो।”
विशेष कुरा के थियो भने, आजकै दिन डडेल्धुरा घर भई हाल तारकेश्वर–१ मा बसोबास गर्दै आएका ३८ वर्षीय उमेश बोहोराले कार्यक्रमस्थलमा आइ ७० औँ पटक रक्तदान गर्दै एक प्रेरणादायी कीर्तिमान कायम गरे।
शिविरका संचालक राजकुमार थापाले धन्यवाद ज्ञापन गर्दै भने:
“उमेश बोहोरा जस्तो समर्पित रक्तदाताको उपस्थिति आजको कार्यक्रमको विशेष आकर्षण बन्यो। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छौं।”
शिविरमा सयौं सर्वसाधारणले सेवा प्राप्त गरे भने आयोजकहरूले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै लैजाने प्रतिवद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly