होमप्रसाद चौंलागाँईं
आज भदौ ४ गते अर्थात मेरो जन्म दिन ! म जन्मँदा भदौ ४ गते बाल दिवस पर्ने गर्दथ्यो । आजकाल मेरो जन्म दिन गाइजात्राको दिन पर्न थाल्या छ । केहि छैन, तिथी मिती र विसको सन्दर्भ तलमाथी पर्ने कुरालाई छोडौं । जन्म दिनको ओइरो नै लागि रहेको छ । कतै एस्.एम्.एस्. अर्थात मेसेज बक्समा, कतै मेसेन्जरमा, कतै भाइबर, कतै ह्वाट्स एप, कतै इन्टाग्राम त कतै विभिन्न प्रविधिहरुको उपयोग गरेर ! यस अवसरमा सबै इष्टमित्र, मान्यजन, साथीभाइ, शुभचिन्तकहरुप्रति हार्दिक आभार र नमन प्रकट गर्न चाहन्छु ।
खास अर्थमा जन्मदिनलाई व्यक्तिले यस धर्तीमा पाइला टेकेको दिनको रुपमा लिइने गरिन्छ । केकमा मैनबत्ती राखी जलाउने अनि फुकेर निभाई शुभ कार्य हुन सक्दैन । दीप अर्थात अग्निलाई पूर्वीय मान्यतामा भगवान् स्वरूपमा लिने गरिन्छ । अझै पनि बत्ती, अर्थात दियोलाई फुकेर निभाउनु हुँदैन भन्ने पूर्वीय मान्यता छ । अग्निले अग्रपथको संकेत गर्छ, अगाडि बढ्ने प्रेरणा दिन्छ । उज्यालो भविष्यको प्रतीक हो ‘अग्नि’ । अन्धकारबाट उज्यालोतर्फ लैजान र अन्धकार, अशिक्षा, अज्ञानतारूपी संसारबाट उज्यालो, स्वच्छ, ज्ञानरूपी भविष्यतर्फ अग्रसरता लिनको लागि अग्निलाई निभाएर शुभ बनाउँन सकिंदैन ।
जन्मदिनको अवसरमा केक काट्ने बेला चुच्चे टोपी लगाउने चलन पनि अचम्मको छ । क्रिश्चियनहरूले जिसस क्राइष्टको जन्मदिनको अवसरमा लगाउने टोपी कट्टर हिन्दु हुँ, सनातनी हुँ भन्नेहरूले समेत लगाएर जन्मदिन मनाइरहेका हुन्छन् । हुनतः लगाउने कुरा र पोशाकसँग धर्मलाई जोड्न त अतिवादी सोच भन्नपनि सकिएला तर लगाउनुको उद्देश्य के हो भन्ने नबुझी पोशाक लगाउनु फगत अन्धविश्वास नै ठहर्छ ।
यसरी केलाएर हेर्दा हामी सबै विदेशी दास बनिरहेका छौं । युरोपबाटै भित्रिएको केक काट्ने चलन यहाँ पनि कला र संस्कृति बनिरहेको छ । युरोपका अधिकांश देशहरूमा ६ देखि ८ महिनासम्म घाम लाग्दैन, कति देशहरूमा सूर्य अस्ताउँदैन पनि । दैनिक रोजगारी र ब्यस्तताले सताइरहेका छ । त्यसैले उनीहरूका लागि बिहान,साँझ, रातिको १२ बजे, बिहानको ६ बजे, प्रायः दिउँसोभर काम सकेर रातिमात्र पारिवारिक भेटघाट खुशीयाली मनाउने चलन हुन्छ । हाम्रो देशमा त शुभ कार्यहरू प्रायः बिहानमा गर्ने गरिन्छ, जन्मदिनलाई शुभ दिन मान्ने हो भने, बिहान शुभकामना लिने, दिने गर्नु पर्दछ । जन्मदिनको दिन रातिसम्म क्याफे, रेष्टुराँहरूमा सेलिब्रेसन गर्ने, सेलिब्रेसनको नाममा अत्याधिक तामसिक भोजन, माछा, मासु, रक्सी, हुक्का पिउने चलन बढ्दो छ । साथीभाइहरू माझ कसले बढी खर्च गरेर जन्मदिन मनाउने भन्ने होडबाजी नै चल्छ । आम्दानी नभएकाले ऋण खोजेरै भए पनि भड्किलो जन्मदिन मनाउने चलन छ ।
यसरी नियाल्दा ह्याप्पी बर्थडे मनाउने कुरा नेपाली संस्कृति हुँदै होइन, यो आयातीत संस्कृति हो । यसलेले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । बाह्रौंँ शताब्दीमा जन्म दिन मनाउने प्रचलन इजिप्टको रोमनबाट सुरु भएको मानिन्छ । रोमनका पुरुषले जन्म दिन मनाउँथे । महिलालाई भने यो अनुमति थिएन । जन्म दिनसँगै जोडिएर जन्मददिनको गीत अंग्रेजी भाषामा ‘ह्याप्पीी बर्थडे टु यु’ रचना भयो । यो गीत संसारमा यति चर्चित बन्यो कि सन् १९९८ को गिनिज बुक अफ वर्ल्ड रेकर्ड नै कायम ग¥यो । संसारका विभिन्न दुई दर्जनभन्दा बढी भाषामा अनुवाद पनि भयो । आज पनि हरेक जन्म दिनको अवसरमा संसारैभर यही गीत गाउने गरिन्छ ।
सन् १८९३ मा पहिलो पटक गााइएको यो गीतको रचना र संगीत दुई जना दिदीबहिनी मिल्ड्रिड जे. हिल र पाटी स्मिथ हिलले गरेका थिए । ‘गुड मर्निङ टु अल’ बोलको स्कुलको गीतबाट परिमार्जन गरी ‘ह्याप्पी बर्थडे टु यु’ बोलका यो गीत बनेको पढ्न पाइन्छ । जन्म दिन खासमा जीवनका कार्यहरूलाइ सफल, मनोरञ्जनपूर्ण र स्मरणयोग्य बनाउन वार्षिक रूपमा मनाउने प्रचलन रहेको छ । शुरु शुरुमा संसारका महान् व्यक्तिहरू, सेलिब्रेटी कलाकारहरूको जन्म दिन मनाउने गर्दथे ।
क्रिश्चियन धर्मावलम्बीले क्रिसमस निकै भव्य रूपमा मनाउने गर्छन् । नेपालमा पनि विभिन्न भगवानका जन्मजयन्तीहरू मनाइने गरिन्छ । हुन त सामाजिक, राजनीतिक, साँस्कृतिक, साहित्यिक आदि महान् व्यक्तिको जन्म दिन मनाउने भने पुरानै संस्कार र संस्कृति हो । पछिल्लो समय यो संस्कृति निकै बढेर गयो । नेपालमा सुरुमा राजामहाराजाहरुको मात्रै जन्मोत्सव मनाउने गर्दथे । सञ्चार र प्रविधिको विकास र विस्तार अनि मानव स्वतन्त्रताको युग सुरु भएसँगै सबैले जन्म दिन मनाउन थालेको देखिन्छ । जंगबहादुर राणाले बेलायत भ्रमणमा गएर आएपछि नेपालमा अंग्रेजी स्कुल र जन्म दिन मनाउने संस्कृति भित्राएको भन्ने उल्लेख छ । उनले पनि बेलायत घुमेर आएपछि निकै धुमधामकासाथ जन्म दिन मनाएका थिए ।
धर्म शास्त्र र खास गरी हिन्दुशास्त्रीय मान्यताअनुसार नेपालमा पनि सनातनदेखि जन्मोत्सव मनाउने चलन हुँदै नभएको होइन । जन्म तिथिका दिन सर्वप्रथम बिहानै तिलको तेलसहित चिसो पानीले स्नान गर्ने नयाँँ वा सफा कपडा, जनै लगाउनेहरूले नयाँ जनै धारण गरेर पूर्व दिशातर्फ फर्केर बसी सकेसम्म पूजा कोठामा वा अन्य कोठामा बसेर पूजा गर्ने प्रचलन छ । जन्मोत्सवका दिन पितृलाई स्मरण गरेर पूजा गर्ने, पुराणमा वर्णित अष्ट चिरञ्जीवीहरूको पूजा गर्नुपर्छ भन्ने मान्यता रहेको छ । अष्ट चिरञ्जीवीहरू बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, मार्कण्डेय, पर्शुरामको पूजा गर्ने र मार्कण्डेय ऋषिको प्रार्थना अष्ट चिरञ्जीवीको प्रार्थना गरेर जन्मोत्सव मनाइने खास नेपाली संस्कार, संस्कृति र चलन हो ।
जन्मोत्सवका दिन साँझमा आफू जति वर्ष पुगेको हो, त्यति नै जोर बत्तीले घरको सबै भागमा दीपावली गर्ने र जति वर्षमा प्रवेश गर्ने हो, त्यो वर्षको प्रतीक स्वरूप एउटा ठूलो दियो पूजा कोठामा बालेर जन्मोत्सव मनाउने नेपाली शास्त्रीय चलन हो । तर त्यसको ठीक उल्टो हिजोआज आयतीत संस्कृतिको प्रभावमा परेर आफ्नो संसकृति नै बिर्सेर मैन बत्ती बाल्ने अनि निभएर जन्मोत्सव मनाउन थालिएको छ ।
विभिन्न धर्म, जातजाति, संस्कार, संकृति, भूगोल र परिवेशअनुसार जन्म दिन मनाउने आआफ्नै तौर तरिका छन् । पारिवारिक भेटघाट, वर्षभरीका राम्रा र गल्ती कमजोरीहरूको समीक्षा, नयाँ काम र सफल जीवनको शुभकामना आदानप्रदान र समीक्षा गर्नु जन्म दिनको खास अर्थ हो । तर नेपालमा यो संस्कृतिको प्रभाव नेपाली समाजको सामाजिक–आर्थिक जीवनलाई नै प्रभाव पार्ने प्रकृतिले आकार ग्रहण गर्दै गइरहेको छ ।
आम संचार, सञ्जाल अर्थात् सूचना प्रविधिले संसारलाई हत्केलामा राखेर नचाइरहेको युगका उपभोक्ता हौँ हामी । नेपाल पनि भोक्तावादी मुलुकको अग्रसूचीमा नै पर्छ । संसारका सबै गतिविधिहरू अहिले हामी घरै बसी बसी हेर्न सक्छौँ । हामी आफ्नो पहिचान, कला, र संस्कृतिहरू भुलेर आयातीत संस्कृतिमा रमाउन उद्दत छौँ ।
तपाईंले शुरु गर्नै पर्दन, अहिले यहाँ सामाजिक सञ्जाल फेसबुकले वर्षमा एक पटक आफैँ जन्म दिन मनाइदिन्छ । फेसबुकमा जन्म मिति राखेअनुसार सबैको जन्म दिन ‘नोटिफिकेसन’मा आउँछ र जन्म दिनलाई खास महत्त्व नदिने, आफ्नो जन्म दिन भनेर ख्याल नगर्ने, थाहा नपाउनेहरूले पनि सञ्जालमार्फत् जब भटाभट जन्म दिनको शुभकामना आउन थाल्छ, अनि ‘ए आज त मेरो जन्म दिन पो रहेछ…’ भन्दै धन्यवाद दिन अग्रसरता देखाउन थाल्छौँ ।
अहिले घरका बच्चादेखि बुढाबुढीसम्म सबै जनाको जन्म दिन केक काटेर, पार्टी, भोज गरी कति भव्य गर्न सकिन्छ भन्ने होडबाजीमा, सञ्जालहरूमा लाइभ हाल्दै वार्षिक रूपमा गर्ने चलन झाङ्गिँदै गएको छ । यसले के देखिन्छ भने कतिपय ठूलो परिवार भएको घरमा महिनैपिच्छे एउटा जन्म दिन मनाउनुपर्ने बाध्यात छ र मनाइरहेको पनि देखिन्छ । यो पहिले रहर थियो, अब बाध्यता बन्दै गएको छ ।
विशेषगरी बच्चाहरूको जन्म दिन तथा यसले समाज र अभिभावकमा पार्ने प्रभावको बारेमा केन्द्रित रहेर केही विषयमा बहस केन्द्रित गर्नु जरुरी छ । बच्चा जन्मेदेखि नर्सरीसम्म र विद्यालय उमेर समूहका बालबालिकाहरूमा जन्म दिनको प्रभावको बारेमा जानकारी दिनु जरुरी छ । हामी आफ्नो वच्चाको खुसीका लागि, अरूकोे बच्चाले जन्म दिन मनाएको कारण, बच्चाले जन्म दिन आउनुभन्दा एक महिना अगावैदेखि बाआमालाई गनगन सुरु गरेको तथा हुनेखानेले पार्टी प्यालेसमा समेत लगेर आफ्ना बच्चाहरूको जन्म दिन मनाएको जस्ता कारणले आज प्रायः सबै आमाबाबुहरूको खर्च जन्म दिनमा निकै मज्जाले बढाइदिएकोे छ ।
जन्म दिनको अवसरमा मनपरेको उपहार, कपडा, नातानालालाई बोलाएर भोज, केकदेखि लिएर पाहुनाले ल्याउने कोसेलीसम्मको सामान्य हिसाब हेर्दा एउटा बच्चाको एउटा जन्म दिन मनाउँँदा सामान्य घरमा दश हजारदेखि खर्च सुरु हुन्छ र घरमा वर्षमा चार–पाँच जनाको खर्च यही गतिमा गर्दा कति खर्च हुन्छ प्रति एक घरमा ? सामान्यत यो हिसाबले नेपालमा जन्म दिनको खर्च कति हुन्छ ? हामी सहज अनुमान गर्नसक्कछौंँ ।
जन्म दिनमा हामीले उपभोग तथा प्रयोग गर्ने सामानहरू, उपहारहरू कहाँबाट आयातीत छन् या हाम्रै उत्पादन हुन् ? के हामीले कहिल्यै यसबारेमा सोचेका छैनौ. । भव्य जन्म दिनको शुभकामना दिएर प्राप्त हुने उपलब्धि थाहै छैन । समाजमा जन्म दिन मनाउने पात्रको जीवनमा कति परिवर्तन आयो अर्थात् पोहोर जन्म दिन मनाएको प्रभाव यो वर्ष कति परेको छ ? कतै यी विषयहरू सुनेका बुझेका छौँँ ? कि भारत, चीनले नेपालीहरूले यति धेरै जन्म दिन मनाउन थालेपछि कति जन्म दिन सम्बन्धित सामानहरूको व्यापार गरेर कति कमाउँछन् ? यसबारेमा कसैले सोचेका छैनौं ।
सक्नेले छोराछोरीको जन्म दिन पार्टी प्यालेस र घरमै पनि धुमधामसँँग मनाउँदा अर्को सँगैको छिमेकी, जन्म दिन मनाउनै सक्दैनभने उसलाई र उसको बच्चालाई कति मनोवैज्ञानिक असर पर्ला, सोचेकै छैनौं । प्रश्नहरु यत्तिमै सिमति छैन, यी प्रश्नहरूले अरू थप प्रश्नहरू जन्माउँँछन् । के हामी जन्म दिन मनाउनै परे यीभन्दा फरक तरिकाले जन्म दिन मनाउन सक्दैनौँ ? हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा वास्तवमा भन्दा जन्म दिन मनाउने आजको तरिकाले प्राहार गरिरहेको छ । हामी मानिरहेका छौँँ, नक्कल गरिरहेका छौँ । शुभकामना र आशीर्वादले जीवन परिवर्तन हुँदैन । हामीलाई यिनै कुरामा भुलाएर छिमेकी मुलुकले आफ्नो व्यापार गरिरहेकाा छन् । पश्चिमा मुलुकले उनीहरूको संस्कृति हाम्रोमा जबर्जस्त लादिरहेका छन् । हामी आफ्नो आम्दानीभन्दा खर्च बढी गरेर, ऋण काढेर जन्म दिन मनाइरहेका छौँ ।
जन्म दिनका दिन केक नै काट्नुपर्दैन बिदेशी कस्मेटिक उपहार दिनुपर्दैन । हामीले सबैभन्दा प्रभावित बच्चा र विद्यालयस्तरका बालबालिकाका लागि जन्म दिन मनाउनै पर्दा विभिन्न विकल्प रोज्नसक्छौँँ । हामी जन्म दिनमा केही उल्लेखनीय काम गर्नसक्छौँ । विद्यालयहरूले बच्चाहरूको जन्म दिनमा सर र मिसलाई चकलेट वितरण गर्न नलगाई उक्त रकमले दुर्गम ठाउँमा पढ्न नपाएका विद्यार्थीहरूकाा लागि छात्रवृृत्ति कोष खडा गरेर वितरण गर्न सकिन्छ । हरेक विद्यार्थीको जन्म दिनबाट उठेको पचास, सय रकमले वर्ष दिनमै एउटा राम्रो जन्म दिन कोष बन्नसक्छ । जन्म दिनको दिन ह्याप्पी बर्थडेकै गीत गाउनुपर्छ भन्ने छैन । बच्चाको जन्म दिनको शुभकामना स्वरूप हाम्रो नेपालको राष्ट्रिय गान स्कुलको प्रार्थनासभामा जन्म दिन परेको विद्यार्थीलाई अगाडि राखेर सम्मान स्वरूप गाइदिए भइहाल्छ । यसले देशको असल मान्छे बन्ने प्रेरणा पनि मिल्छ । यसतर्फ ध्यान दिऔं । मेरो जन्म दिनको मलाई धेरै धेरै शुभकामना ! शुभकामना र शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्णमा हार्दिक नमन् !

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….