रामेछाप जिल्लाको मन्थलीमा जन्मनुभएको कृष्ण कुमार श्रेष्ठ होटल व्यवसाय क्षेत्रमा एक सुपरिचत नाम हो । उहाँ हाल होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय कोषाध्यक्ष हुनुहुन्छ । परिवार सहित बनेपामा नै बसोबास गर्दै आउनु भएको क्षेष्ठ बनेपामा भि. आई. पि थकाली होटल व्यवसायलाई अगाडि बढाइरहेको हुनुहुन्छ । करिब १५ वर्षदेखि होटल तथा रेष्टूरेण्ट व्यवसायमा निरन्तर लागिरहेको बताउनु भयो । सानैदेखि हस्पिटालिटीको क्षेत्र मन पथ्र्यो र यही क्षेत्रमा सेवा गर्ने चाहना पनि थियो । सोहीअनुसार नै म यो क्षेत्रमा लागेको हुँ र लागिरहने बताउनु भयो । अझ भन्नु पर्दा मलाई पाहुनाको स्वागत सत्कार गर्न र पाहुना सन्तुष्ट भएको हेर्न खुब मन पर्छ । त्यसैले पनि यो क्षेत्र मेरो रोजाईको क्षेत्र बनेको हो उहाँ भन्नु हुन्छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय कोषाध्यक्ष, भि. आई. पि थकाली होटलका संचालक कृष्ण कुमार श्रेष्ठसँग गरेको समसामयिक कुराकानी

० पछिल्लो समय देशमा नै आर्थिक संकट चलिरहेको बेला होटल व्यवसाय कसरी सञ्चालन भईरहेको छ ? यसको प्रभाव कतिको परेको छ ?
बास्तबमा भन्ने हो भने देशमा आइपरेका दैविबिपत्तीहरु जस्तै भूकम्प र पछिल्लो समय देखा परेको कोभिड १९ को प्रभावले गर्दा सिंगो पर्यटन क्षेत्र नै धारासायी बनेको बेला कोभिड १९ को प्रभाव केही मत्थर हुँदै गएपछि अब त यस क्षेत्रमा केही सुधारका संकेतहरु देखिन्छन् कि भन्ने लागिरहेको बेला पुनःविश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको मारले हामी सिंगो होटल व्यवसायीहरु अत्यन्तै ठूलो पीडामा परेका छौँ । पहिलेको तुलनामा अहिले हाम्रो व्यवसाय करिब ६० प्रतिशतले खस्किएको छ । व्यवसाय नहुँदा विशेष गरेर घर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुलाई बढी समस्या परेको देखिन्छ भने बैँकको ऋणको किस्तातिर्न नसक्नुका साथै कर्मचारीलाई तलब खुवाउन समेत नसक्दा अधिकाँश व्यवसायीहरु व्यवसायबाट नै हातधुनु पर्ने बाध्यतामा समेत पुगेका छन् । तसर्थ पछिल्लो आर्थिक संकटको मारले हामी होटल व्यवसायीहरु सबैभन्दा बढी मारमा छौँ ।  

० होटल व्यवसायीहरुका अहिलेका मुख्य समस्याहरु के के हुन ?
वर्तमान अवस्थामा होटल व्यवसायीहरुले धेरै समस्याहरु भोगिरहेका छन् । विशेष गरेर चर्को घरभाडाको मार, बैँकको चर्को व्याजदर, व्यवसाय मैत्रि नीति नियमन नहुनु । स्वदेशी लगानीकर्तालाई लगानी मैत्रिवातावरण नहुनु । करोडौँ लगानी गरेर सञ्चालन गरेको व्यवसाय हुँदा पनि व्यवसायलाई धितो राखेर कर्जा दिने व्यवस्था नहुनु । सुलभ कर्जाको व्यवस्थानहुनु । पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा राज्यको ध्यान नजानु । पर्यटक मैत्रिवातावरण बनाउने तर्फ राज्य उदासिनहुनु । राज्यले लागु गर्ने कर नीतिमाएकद्वार कर प्रणाली नहुनु । राज्यको ध्यान राजस्व असुल्ने तर्फ मात्र केन्द्रित भएको तर व्यवसायीलाई टिकाउने तर्फ पटक्कै ध्यान नगएको । ४५ वर्ष पुरानो पर्यटन ऐनलाई टेकेर राज्य हिँडिरहेको तर वर्तमान समय अनुरुप ऐन नियमहरु तर्जुमागर्नु पर्ने तर्फ राज्यको ध्यान नगएको लगायतका अन्य अनगिन्ति समस्याहरुले हामी होटल व्यवसायीहरु जेलिएका छौँ ।

० होटल व्यवसायी महासंघ नेपालले होटल व्यवसायीका समस्याहरु समाधानका लागि सरकारसँग के कस्तो पहल गरेको छ ?
होटल व्यवसायी महासंघ नेपालले देशैभरि छरिएर रहेका साना, मझौलातथा ठूला होटल व्यवसायीहरुका समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको छ । विशेष गरी पछिल्लो समय यस क्षेत्रले भोग्नु परेको समस्या समाधानका लागि र यस क्षेत्रका व्यवसायीहरुलाई अन्यत्र पलायन हुन नदिनकालागि निरन्तर रुपमा सरकारका सम्बन्धित निकायमा खबरदारी गरिरहेको छ । हाम्रो विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, नेपाल पर्यटन वोर्ड, पर्यटन विभाग लगायतका निकायहरुसँग निरन्तर अन्तरक्रिया, संवाद र सहकार्य गरी यस क्षेत्रका व्यवसायीहरुले भोगिरहेका समस्या समाधानका लागि पहलगर्नुका साथै व्यवसायीहरुको व्यवसायिक स्तरोन्नतिका लागि समेत काम गरिरहेको छ ।

० नेपालभर छरिएर रहेका होटल व्यवसायलाई थप व्यवस्थित गर्न महासंघको योजना के छ ?
महासंघमा आवद्ध तमामहोटल व्यवसायीहरुलाई व्यवस्थित गर्दै उनीहरुको व्यवसायिक उन्नतिका साथै स्तरीकरण गराउने हाम्रो प्रथम दायित्व हो भने राज्यका बिभिन्न निकायहरुसँग समन्वय गरी तीनिकायहरु र व्यवसायीहरु बीचको सम्बन्धलाई समधुर बनाउँदै राज्यका हरेक नीतिनियम भित्र व्यवसायीहरुलाई समाहित गराउने हाम्रो दोश्रो कामको रुपमा हामीले लिएका छौँ । कतिपय अवस्थामा देशका बिभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका व्यवसायीहरु राज्यका सम्बन्धित निकायमा नसमेटिएको भन्ने कुरा पनि आइरहेकोले उनीहरुलाई राज्यसँग जोड्ने काममा पनि हामी लागिरहेका छौँ ।

त्यति मात्र होइन विशेषगरी यो पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड नै भएकोले नेपालको पर्यटन विश्वस्तरको बनाउँदै नेपालमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउनको लागि पनि हामी लागिपरेका छौँ र सोही अनुसारको कार्ययोजनाहरु तयार गरी हामी लागिरहेका छौँ । बाह्य पर्यटन मात्र होइन अबका दिनमा आन्तरिक पर्यटन पनि नेपालको पर्यटन विकासमा कोषेढुंगा सावित हुने देखिएकाले हामी देशका कुनाकन्दरामा लुकेर रहेका पर्यटकीय सम्भावना बोकेका स्थानहरुका पहिचान र प्रचार प्रसार गर्नमा पनि हामी जुटिरहेका छौँ ।

० नेपालका होटलहरु सेवा मुखी भन्दा नाफा मुखी भए भन्ने आरोप लाग्ने गरेको छ नि ?
यो प्रश्न नै अलि मिलेन कि ? होटल भन्ने बित्तिकै हस्पिटालीटी हो, हस्पिटालिटी भनेको नै पाहुनालाई गरिने आतिथ्यता हो । त्यसैले हामी पाहुनाको सन्तुष्टि नै हाम्रो मूल ध्येय हो भन्ने मूलमन्त्रलिएर चौबिसै घण्टा पाहुनाको सेवामा खट्ने व्यवसायीहरु कसरी सेवा मुखी भएनौँ ? जहाँ सम्म नाफा मुखी भन्ने प्रश्न छ, त्यसमा मलाई के लाग्छ भने, हामीले चौबिसै घण्टा पाहुनाको सेवा गरेर उनीहरुलाई सन्तुष्ट बनाएर लिने सेवाशुल्क नै हाम्रो आम्दानी भएकोले नाफा त हुनै पर्यो नि । त्यति मात्र होइन हामीले रोजगारी दिएका छौँ, घरभाडा तिरेका छौँ, राज्यलाई कर तिरेका छौँ जसले हाम्रो सामाजिक उत्तरदायित्व पनि त पूरा गरेको छ । अझ पछिल्ला वर्षहरुदेखि त हामी निरन्तर घाटामा नै गईरहेका छौँ तथापिहामीले माथि उल्लेख गरेका दायित्वहरु त पूरा गरिरहेकै छौँ । अनि कसरी नाफामुखी भइयो र ? इमान्दारिताका साथभन्ने हो भने हामी व्यवसायीहरु भनेको नाफामुखी नै हो तर हाम्रो नाफा भनेको राज्यलाई कर तिरेर, कर्मचारीलाई तलब खुवाएर, घरभाडा तिरेर र अन्य सबै खाले खर्च कटाएर बचेको पैसा मात्र हाम्रो नाफाहुने हुँदा हाम्रो व्यवसाय भनेको नाफा मुखी भन्दा पनि सेवा मुखी नै बढी हो ।

० तपाइँको कार्यकालमा होटल क्षेत्रले के परिवर्तन पाउँछ ?
मेरो कार्यकालमा भन्दापनि म टिमवर्कमा बढी विश्वास राख्ने भएको हुँदा हाम्रो कार्यकालमा होटल क्षेत्रको समग्र विकासमा नै हाम्रो टिम लागिरहेको छ र लागिरहने छौँ । हाम्रो कार्यकालमा हामी होटल व्यवसायीहरुले भोग्नु परेका नीतिगत समस्या समाधानका साथै व्यवसायिक स्तरोन्नतिका लागि बढी जोड दिनेछौँ ।

० काभ्रे फुडफेष्टिवल २०८० गर्नुको मुख्य उद्देश्य के हो ? यसबाट होटल व्यवसायीलाई के फाइदा पुग्छ ?
फुड फेष्टिवल गर्नुको उद्देश्य सोध्नुभयो, यो धेरै बिस्तृत कुरा हो । यसलाई ब्याख्या गर्यो भने लामो समय लाग्न सक्छ । तथापि म संक्षेपमा के भन्छु भने फुड फेष्टिवलको उद्देश्य हाम्रो यस क्षेत्रमा पाइने बिभिन्न परिकारका मौलिकतथा स्थानीय खाना र ती खानाहरुको स्वादलाई देशभर चिनाउनु नै हाम्रो मूल उद्देश्य हो । त्यसका साथै हाम्रो यस क्षेत्रको स्थानीय संस्कृति, रीतिरिवाज र परम्परासँग यहाँको खानाको पनि सम्बन्ध जोडिएको छ । त्यसैले खानाको साथमा स्थानीय संस्कृति, परम्परा र रीतिरिवाजलाई पनि देशभर चिनाउनु हाम्रो अर्को उद्देश्य हो । यस फुड फेस्टिवलको आयोजनाले उल्लेखित उद्देश्य पूरा गर्नुका साथै पछिल्लो समय खस्किँदै गएको व्यापार व्यवसायलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने हामीले विश्वास लिएका छौँ ।

० काभ्रे फुड फेस्टिवल २०८० मा होटल व्यवसायी महासंघको भूमिका के रहन्छ ?
होटल व्यवसायी महासंघ नेपाल देशभर छरिएर रहेका होटल व्यवसायीहरुको विकास, बिस्तार र प्रगतिका लागि निरन्तर लागिरहेको छ । यसले आफ्ना हरेक गतिविधिलाई व्यवसायिक हितमाहुने गरी सञ्चालन गर्दछ । यसले देशको एक क्षेत्रका व्यवसायीलाई अर्को क्षेत्रको कुनाकाप्चा सम्म पुर्याएर आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याइरहेको छ । त्यसैले काभ्रेमा हुनलागेको फुड फेस्टिवलमा स्वदेश तथा विदेशमा रहने नेपालीहरुका साथै देशभरका व्यवसायीहरुलाई सहभागी हुनका लागि महासंघले आह्वान गर्दछ र व्यवसायीहरुलाई काभ्रे सम्म ल्याउनका लागि अहमभूमिका निभाउँछ ।

० अन्त्यमा के भन्नचाहनु हुन्छ ?
सर्वप्रथम त तपाइँले नव क्षितिज साप्ताहिक मार्फत मेरा व्यक्तिग तविचारहरुका साथै मूलतःहोटल व्यवसायी महासंघ नेपाल र काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको भनाईहरु सबैसामु पस्कने सुअवसर प्रदानगर्नु भएकोमा तपाइँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथै काभ्रेमा हुन लागेको फुड फेस्टिवल २०८० को सेरेफेरोमा भएको यस कुराकानीले हामीले आयोजना गरेको काभ्रे फुड फेस्टिवललाई सफलतापूर्वक सम्पन्न गर्न अझ बढी टेवा पुर्याउन मद्यत गर्नेछ भन्ने मैले विश्वास लिएको छु । त्यति मात्र होइन, म तपाइँको यस मिडिया मार्फत सम्पूर्ण देशवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई काभ्रेको बनेपामा यहीभाद्र २२ र २३ गते हुनलागेको काभ्रे फुड फेस्टिवलमा सहभागीभई हामीलाई हौसलाप्रदान गरी कार्यक्रमलाई सफल बनाइदिनु हुन समेत विनम्रता पूर्वक अनुरोध गर्दछु ।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..