नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रुपमा लिइने गरिन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।

यसवर्ष ‘धान उत्पादनमा वृद्धि, खाद्य शुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ असार १५ मा १८ औं राष्ट्रिय धान दिवश मनाउन लागिएको छ। प्रत्येक जिल्लाहरुले पनि धान दिवश तथा रोपाइँ महोत्सव मनाउँदैछन् । सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । यसैलाई आधार मानेर नेपालमा पनि मनाउन थालिएको हो ।

नेपाली संस्कृति अनुसार असार १५ मा दहि चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दहि चिउरा खाने गर्दछन् । दहिको महत्व असाध्यै धेरै छ । दहीले खाएको पच्नेदेखि लिएर अरु धेरै नै फाइदा गर्छ भन्ने कुराको प्रमाणित भैसकेको छ । यो दिन अरु दिनको तुलनामा दहिको खपत धेरै हुन्छ र यसका लागि डेरी व्यवसायीहरुले एक हप्तादेखि जोहो गरेर राख्ने गर्दछन् ।

अघिपछि कहिल्यै दहि नखानेले पनि यस दिन अनिवार्य आफ्नो परम्परा धान्न भए पनि दहि खाने गर्दछन् । यो दिन दहि नपाइएला भनेर मानिसहरु अघिल्लै दिनदेखि नै दहिको जोहो गरि राख्ने गर्दछन्। यस दिन बढी खपत भएपछि बजारमा बेलुकापख दहि अभाव हुने गर्दछ ।

यस दिन मानिसहरु दहि चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्दछन् । गाउँघरमा जताततै सबैले घर घरमा दहि चिउरा अनिवार्य खाने गर्दछन् । जसको घरमा दहि जमाएर राखिएको हुँदैन गाउँघरमा पनि शहरमा झैँ किनेर भए पनि त्यस दिन खाने गरिन्छ। यस दिन शहरी क्षेत्रमा पनि अघिल्लो दिन नै दुध किनेर आफैं दहि जमाएर भोलिपल्ट दहि चिउरा खाने समेत चलन छ । आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरु गरेर यसको महत्व बढाउने गरिन्छ। पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइं महोत्सव भनेर विगत १५ वर्षदेखि मनाउँदै आइएको थियो । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गर्दथ्यो । तर गत वर्ष र यस वर्ष कोभिड–१९ (कोरोना भाइरस) का कारण यस्ता खालका कुनै पनि औपचारिक कार्यक्रमहरु हुन हुँदैनन्।

आजभोलि विद्यालय र कलेजका विद्याथीहरुलाई पनि दहि चिउरा खुवाउँदै रोपाइँमा सहभागी गराउने गरिन्छ । यो राम्रो पक्ष हो । यसले गर्दा हाम्रा बालबालिकाले हाम्रो रितिरिवाजको बारेमा जान्ने र यसको संरक्षणमा टेवा पुग्ने हुन्छ । पहिले पहिले बाजा बजाएर नाँचगान गर्दै, असारे भाका हाल्दै, हिलो खेल्दै रोपाइँ गर्ने चलन थियो । बाजा बजाएर हिलोमा खेल्दै रोपाइँ गरिने चलनलाई बेठी लगाउने भनिन्छ। त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो । तर, आजभोलि यो चलन अलि हट्दै गएको देखिन्छ । यसले निरन्तरता नपाउने हो भने भोलिका दिनमा यो यस्ता चलनहरु दन्त्य कथा जस्तो हुन जान्छन् ।

वास्तवमा हाम्रो देश यस्तै खालका फरक रितिरिवाज र संस्कृतीले गर्दा आफ्नो फरक पहिचान बनाउन सफल छ । यस्ता कुरालाई देखावटी मात्र नभई उपलब्धिमूलक बनाउन सक्नुपर्छ । त्यसैले हाम्रो जस्तो देशमा यस्ता कुराको जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ । जसले गर्दा अरु ठूला–ठूला विकासका काम र उपलब्धि गर्न नसके पनि यस्ता खालका फरक संस्कृती बचाउन सक्दा पर्यटकको लागि आकर्षण बन्न सक्छ। अझ झन हाम्रो जस्तो कृषि प्रधान देशमा यसको महत्व धेरै छ ।

हाम्रो देशमा धानको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६÷०७७ मा धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन, आव २०७५÷०७६ मा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन, आव २०७४÷०७५ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन , आव २०७३÷०७४ मा धान उत्पादन ५२ लाख ३० हजार मेट्रिक टन भएको थियो ।

नेपालको कुल जनसंख्यालाई पुग्न वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले ५ वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य लिएको छ । धान उत्पादन वृृहत कार्यक्रम १५ जिल्लामा छ भने यसलाई अझ महत्व दिई झापा जिल्लालाई धानको सुपर जोनको घोषणा गरिएको छ ।

धानको उत्पादन प्रति हेक्टर ३.१ मेट्रिक टनबाट वृद्धि गरि ४ मेट्रिक टन पुर्याउने लक्ष्य छ। कुल ग्राहस्थ उत्पादनमा २० प्रतिशत योगदान धानको छ । हाम्रो देशमा चैते धानको उत्पादन ७ प्रतिशत मात्र छ । नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाईमा धान खेती हुन्छ । कुल ११८ जातका धान नेपालमा पाइन्छ ।

हामीले कतिपल्ट धान दिवस मनाइयो भन्ने कुरा ठूलो वा महत्वपूर्ण नहुन सक्छ । तर यसबाट उपलब्धि के पाइयो भन्ने कुराले ठूलो महत्व राख्दछ । अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्रमा पनि आयात गर्दैछौं । हाम्रा प्रायजसो सबै खेतबारी बाँझो छ, सिँचाइको राम्रो प्रबन्ध छैन, आधुनिकरण हुन सकेको छैन, गाउँघरमा काम गर्ने मान्छे पाँइदैन । किसानले भनेको बेला बीउ मलको अभाव हुन्छ भने काम गर्ने किसानले कसरी काम गर्ने ? यस कारण यी सबै समस्याको हल गर्ने हो भने मात्र हाम्रो देशमा धानको आयात घट्न सक्छ। अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्यो । नयाँ योजना सहित दिवस मनाउँदा उपलव्धीमूलक पनि हुन जान्छ। अहिले गाउँघरमा काम गर्न कोहि छैनन् । यहाँ दैनिक सयौं युवा विदेशिने गरेका छन् । अनि हामी भने देखावटी यस्ता कार्यक्रम गरिरहँदा यसको कुनै अर्थ रहन्न ।

अब विदेशिएका युवालाई स्वदेशमा कसरी आकर्षण गर्ने र विदेश जान कसरी रोक्ने ? भन्ने कुरा तिर हामी लाग्न आवश्यक छ । अर्को कुरा करिब ८० प्रतिशत दुधको माग स्वदेशी उत्पादनले धानिसकेको अवस्था छ। अब हामी कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने तिर लाग्न आवश्यक छ । त्यसैले हामी सबैजना नेपाल कृषि प्रधान देश हो भनी मख्ख परेर मात्र हुँदैन । जुन हाम्रो देशलाई ‘कृषि प्रधान’ भन्ने नाम छ, अब त्यो नाम बचाउन हामी सबैजना लागौं । सबैलाई यस वर्षको असार १५ ले यहि प्रेरणा प्रदान गरोस् । शुभकामना । –नव क्षितिज साप्ताहिकबाट