
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानबाट हालसम्मकै ठूलो संख्यामा अवैध हातहतियार बरामद गरेको छ। प्रहरीले अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान भरुवा बन्दुक फेला पारेको जनाएको छ।

ग्रामीण क्षेत्रमा बन्यजन्तुको अवैध शिकारमा प्रयोग हुँदै आएका यस्ता भरुवा बन्दुकले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई समेत प्रभावित गर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरी कार्यालयले विशेष खोज अभियान सञ्चालन गरेको थियो। सोही अभियानका क्रममा विभिन्न गाउँ तथा दुर्गम क्षेत्रहरूबाट ठूलो परिमाणमा अवैध बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार अवैध हातहतियार नियन्त्रण, शान्ति सुरक्षा कायम राख्ने तथा निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। बरामद गरिएका बन्दुकहरू सम्बन्धित कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिने र यसमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रहरीले आगामी दिनमा पनि अवैध हातहतियार तथा गैरकानुनी गतिविधिविरुद्ध कडाइका साथ अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।


