धुलिखेल / काठमाडौं युनिभर्सिटी स्कुल अफ ल (के. यु. एस. एल) को स्पोर्ट्स क्लबले ‘स्पोर्टस् ल’ नामक सभा संचालन गरेको छ ।करिब ८० विद्यार्थीको उपस्थितिमा के. यु. एस. एल ग्लास हलमा बुधबार दिउँसो कार्यक्रम संचालन भएको हो।
सभामा स्पोर्टस् ल को जानकारी, नेपालमा स्पोर्टस् ल को अवस्था, खेलकुदमा ‘एल जी बि टि किउ’, खेलकुदको कन्ट्रयाक्ट, इ स्पोर्ट्स साथै थुप्रै बिषयमा छलफल भएको थियो ।कार्यक्रमको वक्ताको रुपमा नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा कमेन्टेटरको भूमिका निर्वाह गरिसकेका आयुष गौतम उपस्थित थिए ।उनी कानुनकै विद्यार्थी हुन् र इजाजतपत्र प्राप्त वकिल समेत भइसकेका छन् ।नेपालमा खासै खेलकुद कानुनको प्रचलन न भैसकेको र अन्य देशहरुमा यसको के कस्तो प्राबधान रहेको छ र यो विषय किन महत्वपूर्ण छ भन्ने बारे पनि गौतमले खुलस्त पारे ।खेलकुद कानुनले म्याच फिक्सिङ, डोपिङ देखि अरु धेरै कुराहरुलाई समेट्ने हुनाले नेपालमा पनि खेलकुद कानुन निकै आवश्यक रहेको गौतमले बताए ।
कार्यक्रममा उपस्थित बिद्यार्थीहरुसँग प्रश्न उत्तर र अन्तर्क्रिया कार्यक्रम भएको थियो ।करिब दुइ घण्टा चलेको कार्यक्रममा म्याच फिक्सिङ, डोपिङ परीक्षणका साथै अन्य थुप्रै विषयमा पनि छलफल भएको थियो ।
के. यु. एस. एल स्पोर्ट्स क्लबका संयोजक समिर कोइरालाले कार्यक्रम निकै फलदायी भएको र उपस्थित सबैले केही नयाँ कुरा सिक्ने मौका पाएको जानकारी दिए । “यस अघि पनि थुप्रै कार्यक्रम स्पोर्ट्स क्लबले गरि सकेको छ तर यो केहि फरक र विशेष भयो, थुप्रै नयाँ कुरा बुझ्न र जान्न पाइयो ।यो सुरुवात मात्रै हो आगामी दिनमा पनि हामी यस्तै थुप्रै कार्यक्रम ल्याउने छौँ र त्यसका लागि निरन्तर छलफल भइरहेको छ”, कोइरालाले बताए ।