काभ्रेपलान्चोक – रचनाकार सरिता सापकोटाको परिचय त्यतिमै सीमित छैन । उनी सक्रिय पत्रकार हुन् अनि वकिल पनि। उनले हालै नयाँ गीत म्युजिक भिडियोसहित बजारमा ल्याएकी छन्, ‘जाने भए जाऊ’। पछिल्लो समय दिन प्रतिदिन नयाँ नयाँ गित बजारमा आइरहेका छन् । कुनै गितले राम्रै बजार तताउने गरेका छन् भने कुनै गित आउनेमा मात्रै सिमित हुन्छन् । सरिता सापकोटा बुहुप्रतिभाको धनी हुन् । उनले बजारमा सार्वजनिक गरेका गितहरुले दर्शक श्रोताको मन जितेका छन् ।

रुपक डोटेलको स्वरमा रहेको यस गीतमा संगीत मनोज चौलागाईंले भरेका छन्। टेकेन्द्र शाहको निर्देशनमा बनेको म्युजिक भिडियोमा विकास लामिछाने र ऋचा थापाले अभिनय गरेका छन्।

काभ्रेको पनौतीमा जन्मेकी सापकोटा काठमाडौं र बनेपा ओहोरदोहोर गरिरहन्छिन्। यो गीत घरबाट काठमाडौं जाँदै गर्दा बाटोमा फुरेको थियो उनलाई। सापकोटा भन्छिन्, ‘नक्साल आइपुग्दा लिरिक्स बिर्सिएला भनेर मोबाइलमा आफ्नै स्वरमा रेकर्ड गरेकी थिएँ।’

‘जाने भए जाऊ माया, जाने भए जाऊ
यादहरू लैजाऊ, फर्केर नआऊ
बिर्सिएर जाऊ माया, बिर्सिएर जाऊ
सम्झनाका सौगात लैजाऊ
फर्केर नआऊ …’

३-४ महिनाअघि उनले मोबाइलमा रेकर्ड गरेको गीत संगीतकार चौलागाई, अग्रज रचनाकार बीबी थापालगायत टिममा सुनाएपछि सबैले मन पराए। तुरुन्तै रेकर्ड गर्नुपर्छ भन्‍ने सबैको सल्लाहमा गीत र भिडियोको तयारीमा लागे उनीहरू। यो गीत सापकोटाको आफ्नै युट्युब च्यानल ‘फाइभ स्टार्स’मा म्युजिक भिडियोसहित हेर्न सकिन्छ। सापकोटाका अनुसार उनीहरू एल्बम निकाल्ने तयारीमा थिए। लामो यात्रा गर्दा मनमा खेल्ने कुरा र दिमागमा आउने तर्कनाहरू कुनैबेला मिठो गीत बन्‍ने उनी बताउँछिन्।

सापकोटाले रचना गरेको पहिलो गीत ‘तिम्रो तस्बिर’ हो। जुन गीतमा युवा गायक प्रताप दासले स्वर दिएका छन्। दोस्रो गीत भने दशैंतिहार विशेष थियो। यो तेस्रो गीत हो बजारमा आएको। उनले गीत भने पाँचवटा रेकर्ड गरिसकेकी छन्। ‘बेखबर छन् खबर सोध्‍नेहरू आजकल’ भन्‍ने गीतमा विश्‍व नेपालीको स्वर छ। यस्तै, अनु चौधरीको आवाजमा ‘बाडुली लागेको लागेकै छ’ गीत पनि सार्वजनिक हुन बाँकी छ।

गीत-संगीत मोह

गीत संगीतमा उनी सानैदेखि रमाउँथिन्। विद्यालय पढ्दादेखि गीत रचना गर्न थालेकी हुन्। विद्यालयमा हुने विभिन्‍न गायन कार्यक्रममा नियमित सहभागी हुन्थिन्। कार्यक्रममा सहभागी मात्रै होइन, पटक-पटक प्रथम पुरस्कार हात पारेकी छन् उनले। काभ्रेको कुसादेवी माविबाट एसएलसी उत्तीर्ण सापकोटा जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम भएर पुरस्कार थापेको स्मरण गर्छिन्।

बहुप्रतिभाकी धनी

सापकोटालाई विभिन्‍न कालखण्डले फरक-फरक भूमिका वहन गर्ने अवसर दियो। त्यसैले विभिन्‍न विधामा उनले अनुभव बटुल्न पाइन्। उनी बहुप्रतिभाकी धनी हुन्। गीत-संगीतमा मात्र होइन, उनी अन्य क्षेत्रमा पनि उत्तिकै अब्बल छिन्।

उनीसँग आठ वर्ष अध्यापन गरेको अनुभव छ। यस्तै, ०६८ सालदेखि शुरु भएको उनको पत्रकारिता यात्रा अद्यापि निरन्तर छ। यसका साथै उनी एक कुशल अधिवक्ता पनि हुन्। एलएलबी र एलएलएम दुवै गरेकी छन् उनले। उनले अधिवक्ताको लाइसेन्स लिएकै आठ वर्ष बितिसक्यो। विभिन्‍न मुद्दामा उनी अदालती बहसमा सहभागी बहसमा सहभागी भइसकेकी छन्।

यस्तै, एमबीएस पनि उत्तीर्ण गरेकी छन् सापकोटाले। यसबीचमा गैरसरकारी संस्थामा पनि काम गरिन्। अहिले स्थानीय सरकार सबलीकरण विषयमा विभिन्‍न स्थानीय तहमा पुगेर प्रशिक्षण दिने काम गर्छिन्।

दैनिकी चलाउन अन्य पेशा रोजे पनि फुर्सदको समय सदुपयोग र जिन्दगीलाई रमाइलो बनाउन गीत-संगीतले निकै साथ दिएको उनी बताउँछिन्। गीत-संगीतले जिन्दगी सहज बनाइदिने उनलाई लाग्छ। त्यसैले गीत-संगीतको यात्रालाई निरन्तरता दिने उनको योजना छ।

– नेपाल हेडलाइन बाट

 

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly