


दाप्चा ÷ नमोबुद्ध नगरपालिकाले ११ वटै वडाबाट सहभागी गराएर लैगिक हिंसाविरुद्ध अभिमुखिकरण गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर प्रत्येक वडाबाट १५ जनाका दरले सहभागी गराएर ५ दिन तालिम सञ्चालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।




उनका अनुसार, वडा नं २, ३, ४, ५, ६ र ७ लाई ३ समूहमा नगरपालिकामा नै, वडा नं १ र ११ लाई कपरढुंगामा र वडा नं ८, ९ र १० लाई छत्रेबाँझमा १ दिने अभिमुखिकरण गरिएको हो । मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लैंगिकता, महिला अधिकार, शसक्तिकरण लगायतका बिषयबस्तुमा अभिमुखिकरण गरेका थिए ।


शनिवार वडा नं ९ को कार्यालयमा समापन गरियो । समापनमा नगर प्रमुख कुन्साङ लामाले नगरमा लैंगिक हिंसा नहोस् भन्नको लागि आफू सचेत भएको भन्दै बर्षभरी नै लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । हिंसा गर्नेलाई सार्वजनिक सेवा, सुविधा नदिने भन्दै उनले कोही हिंसामा परिहाले निशुल्क कानूनी सहायता दिने प्रतिवद्धता जनाए । महिलाहरुको आर्थिक शसक्तिकरणको लागि आयमुलक र सिपमुलक कार्यक्रम सञ्चालन गर्ने बताउदै नगर प्रमुख लामाले महिला विकासको क्षेत्रमा बजेट दोब्बर बनाउने बताए । जीवनमा विभिन्न खाले समस्या आउन सक्ने भन्दै उनले आत्मबल दह्रो बनाएर संघर्ष गर्न सक्नुपर्ने बताए ।
नगर उपप्रमुख रत्नबहादुर लामाले यस्ता अभिमुखिकरण महिला शसक्तिकरण र आत्महत्या नियन्त्रणको लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नगरले विभिन्न सिप तथा आयमुलक तालिम सञ्चालन गर्ने भन्दै सहभागिताको लागि अनुरोध गरे । पूर्व उपप्रमुख रामदेवी तामाङले शिक्षा, स्वास्थ्यका साथै आर्थिक रुपमा शसक्तिकरण भए मात्रै महिला शसक्तिकरण हुने तर्क गरिन् । नगर प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसीले राजनीतिमा शसक्त प्रतिनिधित्वको लागि महिलाहरुलाई अनुरोध गरे । सामाजिक विकास समिति संयोजक समेत रहेका वडा नं ९ का अध्यक्ष विरबहादुर लामाले अभिमुखिकरणबाट प्राप्त ज्ञानलाई गाउँ टोलमा सचेतना दिन अनुरोध गरे ।