मिलापकर्मी गीता अधिकारी ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पुरस्कृत हुनुभएको छ । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा गरेको विशेष कार्यक्रममा अधिकारीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सिटौला लगायतले अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । अधिकारीलाई ५१ हजार राशिको पुरस्कारसहित दोसल्ला, प्रमाणपत्र र ट्रफीसहित पुरस्कृत गरिएको थियो ।
वार्षिकोत्सवका अवसरमा संघले अधिकारीसहित ‘चलचित्र पत्रकारिता सम्मान २०७७’बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरे, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आरडी शृंखला (राजन दाहाल) लाई पुरस्कृत गरेको छ । त्यस्तै, ‘चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पोखराका रेम रसाइलीलाई पुरस्कृत गरिएको छ ।
यस्तै ‘चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७९’बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९’बाट उद्धव रसाइली र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९’बाट मकवानपुरका श्रीराम अर्जुनलाई पुरस्कृत गरिएको छ । मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशिसहित प्रदान गरिएको थियो ।
गीता अधिकारी मिलाप राष्ट्रिय मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेसनको अध्यक्ष हुनुहुन्छ ।