माओवादी वडा कमिटीका अध्यक्षसहित दर्जनौँ एमाले प्रवेश

 

अरुण, भोजपुर । स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेहरूको लहर नै चलेको छ । यसै क्रममा आइतबार भोजपुरको अरुण गाउँपालिका वडा नम्बर–१, याङपाङ, नेकपा माओवादीको वडा कमिटीका अध्यक्ष रामकुमार तामाङसहित माओवादी, नेपाली कांग्रेस, माओवादी विप्लव पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । माओवादी र कांग्रेसले गठबन्धनका नाममा निर्दलीय व्यवस्था ल्याउन लागेको, देशमा बेतिथी मौलाएको आरोपसहित नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् ।
चुनावी अभियान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले भोजपुरका उपाध्यक्ष मकर खड्का, सचिवालय सदस्य शेरबहादुर श्रेष्ठ, एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार नारायण घिमिरे, उपाध्यक्षका उम्मेदवार कविता राई, नेकपा एमाले प्रदेश नम्बर एक सम्पर्क कमिटी सल्लहाकार परिषद्का सचिव देवी घिमिरेलगायतको उपस्थिति रहेको थियो । अघिल्लो निर्वाचनमा ७ ओटा वडामध्ये एउटा सात नम्बर वडाबाहेक सबै वडासहित अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेस यसपटक पराजित अवस्थामा रहेको छ भने गठबन्धन नभएको यस पालिकामा यसपटक एमालेप्रति व्यापक जनलहर देखिएको छ ।

बिज्ञापन