राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्छ, मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्ने बताएकी छन् ।

निर्वाचन कानुन एवं व्यवस्थापनका बिषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफमा प्रधानमन्त्री कार्कीले देशको सर्वेसर्वा भनेको जनता नै रहेको भन्दै राजनीतिक दलभित्र आफ्नो तनाव जनतालाई पोख्न नहुने समेत बताइन् ।

बिज्ञापन

उनले जनताको भावना अनुसार नै राजनीतिक दलहरु चल्न सक्नुपर्ने र कसैले पनि मेरो गोरुको बाह्रै टक्का गरेर नहुने धारणा राखिन् ।

राम्रा गरेको दललाई चयन गर्ने अधिकार जनतालाई रहेको भन्दै प्रधानमन्त्री कार्कीले जनताको भावना अनुसार राजनीतिक दलहरु चल्न सक्नुपर्ने उल्लेख गरिन् ।

उनले राजनीतिक दलको गीत गाएर मात्रै नहुने भन्दै सबैले देशको बिकासका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले सुशासनका लागि पनि वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको समेत बताइन् ।

उनले निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुबाट सकारात्मक सुझाव र सहयोग प्राप्त भएकाले निर्वाचनको वातावरण बन्दै गएको उल्लेख गरिन् ।