एमाले लाई पैसामा खरिद गर्न सम्भव छैन- अशोक व्यान्जु

 

काभ्रे, नेकपा (एमाले) काभ्रेका अध्यक्ष एवम् धुलिखेल नगर प्रमुख अशोक व्यान्जु ले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताएका छन् । स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष व्यान्जुले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि गर्न नदिने दाबी गरेका हुन् ।

बिज्ञापन

बिहीबार धुलिखेलमा नेेकपा एमाले नगर कमिटी द्वारा आयोजित एक कार्यक्रममा अध्यक्ष व्यान्जुले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताए । यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने अध्यक्ष व्यान्जुको भनाई थियो । उनले भने, ‘पोलिटिकल फिल्ड इज अल्वेज ओपन फर एभ्रिबडी । यो कसैको पनि ठेक्कापट्टाको विषय होइन । यो सबैका लागि खुला छ । मैदान खुला छ । यो चाँही ओपन म्याराथुन हो । तोकिएका खेलाडी छैनन् यसमा । सबैले यसमा भाग लिन पाउँछन ।’

उनले थपे, नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर चलाउँदै हिँडने पागल होइन यो । तर अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन । र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिँदैन । करोड होइन, सय करोड, हजार करोड, लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई खरिद गर्न सम्भव छैन ।’