

काभ्रेपलाञ्चोक — कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुन गइरहेको ‘दशौँ राष्ट्रिय खेलकुद-२०८३’ का लागि काभ्रेपलाञ्चोक जिल्लामा खेलाडी छनौट प्रक्रिया अघि बढाइएको छ। प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको प्राप्त पत्रानुसार काभ्रे जिल्लाबाट विभिन्न १२ वटा खेलको जिल्ला स्तरीय छनौट गर्न लागिएको हो।

काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवा तामाङका अनुसार कराते, तेक्वान्दो, एथ्लेटिक्स, उसु, आई.टि.एफ तेक्वान्दो, जुडो, टेबल टेनिस, फुलकन्क्याक्ट कराते, बुद्धिलाल (चेस), फुटबल, भलिबल र ब्याडमिन्टन गरी १२ वटा खेलको जिल्ला स्तरीय छनौट गरिनेछ भने बाँकी खेलहरूका लागि खेलाडीहरूलाई सिधै प्रदेश स्तरको छनौटमा सहभागी गराइनेछ।


अध्यक्ष तामाङले इच्छुक तथा योग्य खेलाडीहरूलाई आगामी कात्तिक ५ गतेभित्र जिल्लामा खेलाडी दर्ता फाराम भरिसक्न आग्रह गर्नुभएको छ। छनौट प्रतियोगितामा सहभागी हुनका लागि सम्बन्धित जिल्लामा स्थायी बसोवास भएको नागरिकता प्रमाणपत्र वा बसाइँसराइ अनिवार्य पेस गर्नुपर्नेछ। त्यसैगरी खेलाडीले फोटोसहितको ३ वटा फाराम जिल्ला खेलकुद विकास समितिमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
अन्य जिल्ला खेलाडीहरूको सहभागिताको हकमा राष्ट्रिय खेलकुद परिषद्को ‘राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका-२०८३’ बमोजिम हुनेछ भने राष्ट्रिय खेलकुद परिषद्ले तोकेको उमेर हद पनि लागू हुनेछ। खेल इभेन्ट्स तथा तौल समूहको हकमा दशौँ राष्ट्रिय खेलकुदमा समावेश भएका इभेन्ट्सहरूको मात्र प्रदेश स्तरमा छनौट गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।


