बासडोललाई नमुना गाउँ बनाउने अभियानमा जुटे युवा

बनेपा, काभ्रेको बनेपा नगरपालिका–बासडोल क्षेत्रलाई नमुना गाउँ बनाउने लक्ष्यसहित स्थानीय युवाहरूले सञ्चालन गर्दै आएको बृहत् सरसफाइ अभियानले निरन्तरता पाएको छ।

हरेक शनिबार बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएका बासडोलका युवाहरूले आज पनि दिनलाई सदुपयोग गर्दै देउरालीदेखि गोड डाँडासम्मको सडक तथा आसपासको क्षेत्र सरसफाइ गरेका छन्।

बिज्ञापन

स्थानीय युवाहरूको सक्रियतामा सञ्चालन भइरहेको यस अभियानले बासडोलको वातावरण स्वच्छ राख्नुका साथै क्षेत्रको मुहार परिवर्तन गर्ने अपेक्षा गरिएको छ। सरसफाइ अभियानमा युवाहरूको निरन्तर सहभागिता र सक्रियताले स्थानीयवासीमा समेत सकारात्मक सन्देश प्रवाह गरेको छ।

 

बासडोललाई सफा, सुन्दर र व्यवस्थित बनाउँदै नमुना गाउँका रूपमा विकास गर्ने लक्ष्यसहित अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने युवाहरूले बताएका छन्।

हरेक शनिबार हुने सरसफाइ अभियानमा स्थानीय युवाहरूको सहभागिता बढ्दै गएको छ भने आफ्नो गाउँ आफैं सफा र सुन्दर बनाउने अभियानले समुदायमा सकारात्मक ऊर्जा थपेको छ।