
बनेपा — बनेपाको ऐतिहासिक पुरानो बजार क्षेत्रमा नयाँ व्यवसाय ‘चिया छें’ सञ्चालनमा आएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको ‘चिया छें’ बनेपा नगरपालिका–९ स्थित थानपति नारायण मन्दिर (कृष्ण मन्दिर) परिसरमा अवस्थित छ। चिया तथा बेकरी परिकारसँगै नेवारी मौलिकता, इतिहास र संस्कृतिको झल्को दिने सामग्रीलाई एउटै स्थानमा समेटेर तयार गरिएको यस व्यवसायले बनेपाको पुरानो बजारमा नयाँ अनुभव थप्ने अपेक्षा गरिएको छ।

‘चिया छें’ मा विभिन्न स्वादका चिया तथा बेकरी आइटमहरू उपलब्ध हुनेछन्। आगामी दिनमा ग्राहकको माग र आवश्यकताअनुसार विभिन्न प्रकारका खाजा तथा खानाका परिकारसमेत थप गर्दै लैजाने तयारी रहेको सञ्चालकहरूले बताएका छन्। सामान्य चिया तथा खाजा पसलभन्दा फरक पहिचान बनाउने उद्देश्यले व्यवसायलाई मौलिक र सांस्कृतिक स्वरूपमा तयार गरिएको छ।

विशेषगरी ‘चिया छें’ मा पुराना नेवारी सामग्री तथा ऐतिहासिक पुस्तकहरू समेत राखिएका छन्। पुराना सामग्रीको संरक्षण र नयाँ पुस्तालाई स्थानीय इतिहास तथा संस्कृतिसँग जोड्ने उद्देश्यले तयार गरिएको यो स्थानले चिया पिउने ठाउँसँगै सानो पुस्तकालय तथा सांस्कृतिक संग्रहस्थलको अनुभूति दिने प्रयास गरेको छ। यहाँ आउने ग्राहकले चिया–नास्ताको स्वादसँगै ऐतिहासिक पुस्तक पढ्न तथा पुराना नेवारी सामग्री अवलोकन गर्न सक्नेछन्।


‘चिया छें’ को अर्को आकर्षण भनेको आफ्नै रोजाइको गीत तथा संगीत बजाएर समय बिताउन सकिने सुविधा हो। ग्राहकले आफूलाई मन पर्ने गीत बजाउँदै साथीभाइ तथा परिवारसँग रमाइलो वातावरणमा समय बिताउन सक्नेछन्। यसले चिया, पुस्तक, संगीत र मौलिक संस्कृतिलाई एउटै ठाउँमा जोड्ने अवधारणा अघि सारेको छ।
व्यवसायका प्रोप्राइटर जितेन कपाली र नैलेस कपाली हुन्। स्थानीय मौलिकता र सांस्कृतिक पहिचानलाई आधुनिक व्यवसायिक अवधारणासँग जोडेर नयाँ पुस्ता, स्थानीय बासिन्दा, पर्यटक तथा इतिहास र संस्कृतिमा रुचि राख्नेहरूका लागि आकर्षक गन्तव्य बनाउने उद्देश्यले ‘चिया छें’ सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ।
बनेपाको ऐतिहासिक पुरानो बजार क्षेत्र र थानपति नारायण मन्दिर परिसरको आसपासमा अवस्थित भएकाले ‘चिया छें’ ले चिया र बेकरी परिकारको स्वादसँगै बनेपाको मौलिक संस्कृति, इतिहास र संगीतको अनुभव लिन चाहनेहरूका लागि नयाँ गन्तव्यको रूपमा आफ्नो पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ।
परम्परा र आधुनिकतालाई एउटै छानामुनि समेट्ने प्रयास गरिएको ‘चिया छें’ ले व्यवसायसँगै स्थानीय कला, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई प्रवर्द्धन गर्ने माध्यम बन्ने लक्ष्य लिएको छ।

