
बनेपा । प्राचीन सांस्कृतिक बाजागाजा तथा दाफा संस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्दै आएको बनेपाको वाँख्यो दाफा भजन खलःले यस वर्ष पनि लोपोन्मुख गुँला बाजासहित विभिन्न बौद्ध विहार, चैत्य, बहि तथा धार्मिक तीर्थस्थलको परिक्रमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ।

बौद्ध धर्मावलम्बी नेवार समुदायका लागि गुँला महिना विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महिना हो। नेपाल संवत्को दशौँ महिनाका रूपमा मनाइने गुँला अवधिभर बुद्धप्रति श्रद्धा व्यक्त गर्दै विभिन्न विहार, चैत्य, स्तूप, बहा, बहि, गुम्बा तथा तीर्थस्थलको भ्रमण र पूजा गर्ने परम्परा रहेको छ।

गुँला पर्वमा विशेषगरी ‘नौ बाजा’ बजाउने परम्परा छ। पास्त, धां, धोलक, पछिमा, धिमेचा, नगरा, नायखि, कोंचा खिं र डवडवचा लगायतका बाजासँगै भुस्या, मुहाली, सिछ्या, बौचा, टिं, धुलु, चतिचा, पोङ्गा लगायतका सहायक बाजा पनि बजाइन्छन्। गुँला पर्वका अवसरमा मात्र विशेष रूपमा बजाइने भएकाले यी बाजालाई ‘गुँला बाजा’ भन्ने गरिन्छ।


गुँला बाजामा प्रयोग हुने विभिन्न सिङबाट निकालिने ध्वनिले पितृको मोक्ष हुने तथा वरपरको नकारात्मक ऊर्जा नष्ट भई सकारात्मक ऊर्जा उत्पन्न हुने जनविश्वाससमेत रहेको छ।
एक महिनासम्म व्रत र चैत्य निर्माण
बनेपाका मानन्धर समुदायमा गुँला महिनाभर चोखो नीति पालना गर्दै विशेष प्रकारको व्रत बस्ने परम्परा छ। यस अवधिमा एक महिनासम्म दिनमा एक छाक मात्र, विशेषगरी बेलुकी फलफूल, दूध, दही, रोटी तथा शाकाहारी परिकार खाने चलन रहेको बताइन्छ।
यसै अवधिमा विशेष विधि र नियम पालना गरी कालो माटोबाट चैत्य निर्माण गर्ने परम्परा पनि छ। चैत्य निर्माण तथा पूजाका आफ्नै विधि र नियम रहेकाले ती सबै प्रक्रिया पूरा गरेर चैत्य बनाउने गरिन्छ।
गुँला महिनाको अन्तिम दिन विभिन्न बाजागाजासहित हर्षोल्लासका साथ ती चैत्यलाई त्रिवेणीमा लगेर विसर्जन गरिन्छ। एक महिनासम्म व्रत बस्ने, चैत्य निर्माण गर्ने र अन्त्यमा त्रिवेणीमा लगेर विसर्जन गर्ने यस परम्परालाई ‘गुँला धलं’ भनिन्छ। गुँला धलं पनि एक प्रकारको बुद्ध पूजा नै रहेको मानन्धर समुदायका जानकारहरू बताउँछन्।
गुँला बाजा र गुँला धलंको सम्बन्ध
नेपाल संवत्को दिल्लाथ्व पारुदेखि गुँलाथ्व पारुसम्मको अवधिलाई गुँला महिना मानिन्छ। यस अवधिमा बौद्धमार्गी नेवार समुदायले बुद्ध चैत्य, विहार, बहा, बहि, स्तूप तथा गुम्बालगायतका धार्मिक स्थलमा विशेष पूजा तथा उपासना गर्ने गर्छन्।
गुँला धलं र गुँला बाजा एकअर्काका परिपूरक मानिन्छन्। विगतमा बनेपाका मानन्धर समुदायले गुँला धलं आयोजना भएका बेला मात्रै गुँला बाजा निकाल्ने चलन थियो। तर गुँला धलं आयोजना गर्न ठूलो जनशक्ति र लामो समय आवश्यक पर्ने तथा पछिल्लो समय बढ्दो व्यस्त जीवनशैलीका कारण हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्न कठिन हुँदै गएको छ।
यसका बाबजुद पनि वाँख्यो दाफा भजन खलःले लोपोन्मुख अवस्थामा पुगेको गुँला बाजाको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले केही वर्षयता नियमित रूपमा गुँला बाजा निकाल्दै आएको छ।
वाँख्यो दाफा भजन खलःले यसअघि २०७५ सालमा गुँला धलं समेत आयोजना गरेको थियो। हरेक वर्ष आयोजना गर्नुपर्ने परम्परालाई निरन्तरता दिन कठिन भए पनि सबैको साथ, सहयोग र समय उपलब्ध भएमा कम्तीमा १० वर्षमा एकपटक गुँला धलं आयोजना गर्ने योजना खलःले अघि सारेको छ।
प्राचीन संस्कृति, मौलिक बाजागाजा र पुस्तौँदेखि चलिआएको धार्मिक परम्परा संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै खलःले आगामी दिनमा पनि गुँला बाजा तथा गुँला धलंलाई निरन्तरता दिने जनाएको छ।
बदलिँदो जीवनशैलीका बीच पनि बनेपाका मानन्धर समुदायले आफ्नो मौलिक सांस्कृतिक पहिचान जोगाउन गरिरहेको प्रयासले नयाँ पुस्तालाई समेत परम्परा र संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

