एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई प्याब्सन काभ्रेको सम्मान

काभ्रे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय, शिक्षक तथा अभिभावकलाई सम्मान गरेको छ।

प्याब्सन काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रममा यस वर्ष पाँच जना विद्यार्थीले सर्वोत्कृष्ट जीपीए ४ प्राप्त गरेका छन् । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू विद्यासागर स्कुल बनेपा, सिद्धार्थ इङ्गलिस स्कुल बनेपा, नवप्रतिभा स्कुल पाँचखाल तथा पनौतीस्थित नवरत्न माध्यमिक विद्यालयबाट रहेका छन् ।

बिज्ञापन

कार्यक्रम काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. अच्युत वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समारोहमा विभिन्न विद्यालयका प्रिन्सिपलहरूलाई समेत सम्मान गरिएको थियो । उत्कृष्ट विद्यार्थीहरूलाई नगद १० हजार रुपैयाँसहित विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी, प्याब्सन काभ्रेले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने प्याब्सनअन्तर्गतका ३१ विद्यालयलाई विशेष सम्मान गरेको छ । प्याब्सनमा आबद्ध ५२ विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा नौ वटा विषयका उत्कृष्ट विषयगत शिक्षकहरूलाई सम्मान गरिएको थियो भने एउटै विद्यालयमा निरन्तर २५ वर्षदेखि सेवा गर्दै आएका दीर्घसेवी शिक्षकहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

समारोहमा ४ सय ५० भन्दा बढी उत्कृष्ट विद्यार्थी सम्मानित भएका थिए । यस वर्ष प्याब्सनअन्तर्गतका विद्यालयबाट १५ सयभन्दा बढी विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

प्याब्सन काभ्रेका सचिव विमल न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले गर्नुभएको थियो ।