
धुलिखेल । धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा धुलिखेल नगरपालिका वडा नं. ४ को समन्वयमा सञ्चालन हुन लागेको “एडभान्स बारिस्टा ट्रेनिङ” कार्यक्रमको आज औपचारिक उद्घाटन गरिएको छ।


बनेपास्थित इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा सञ्चालन हुने उक्त तालिम २१ दिनसम्म चल्ने आयोजकले जनाएको छ। तालिममार्फत युवाहरूलाई कफी निर्माण, कफी प्रस्तुति, ग्राहक सेवा तथा हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित व्यावसायिक सीप प्रदान गरिनेछ।


कार्यक्रमको उद्घाटन धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष तिमल्सिनाले युवालाई सीपमूलक तालिमसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो।


उहाँले सीप र दक्षताले मात्रै आजको प्रतिस्पर्धात्मक समयमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै तालिमलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
त्यसैगरी, इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रोप्राइटर कामदेव शाह ठकुरीले नेपालमै हस्पिटालिटी र कफी संस्कृतिको विस्तार भइरहेको अवस्थामा दक्ष बारिस्टाको माग बढ्दै गएको बताउनुभयो। उहाँले तालिमले सहभागीहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउनुका साथै स्वदेशमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्यहरू कुमार थापा, गोवर्धन थापा मगर, सजना परियार लगायतको उपस्थिति रहेको थियो। सहभागी युवाहरूले तालिमबाट व्यवहारिक ज्ञान र सीप हासिल गरी भविष्य निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
![]()
![]()

