
काभ्रे । काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी रविन कार्कीले जिल्लाको शान्तिसुरक्षा, तस्करी, गुडागर्दी र आर्थिक लेनदेनमा कुनै सम्झौता नगर्ने बताएका छन् ।


जिल्ला प्रहरी कार्यालय काभ्रेको कमाण्ड सम्हालेसँगै सञ्चारकर्मीसँगको भेटमा उनले अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउने बताएका हुन् । उनले चोरी, तस्करी, लागूऔषध दुव्र्यसन, जुवातास, घरेलु तथा यौनजन्य हिंसा नियन्त्रणका लागि विशेष अप्रेसन सञ्चालन गरिने बताए ।


एसपी कार्कीले बजार क्षेत्र र व्यावसायिक प्रतिष्ठानमा सिसिटिभी निगरानी, मापसे चेकिङ तथा फरार अभियुक्त पक्राउलाई प्राथमिकतामा राखिने उल्लेख गरे । प्रहरीभित्र छवि बिगार्ने गतिविधि भेटिए तत्काल कारबाही गरिने पनि उनले बताए ।



उनले ‘सत्य सेवा सुरक्षणम्’ नारालाई आत्मसाथ गर्दै नागरिकलाई भयमुक्त वातावरणमा सेवा दिने प्रतिबद्धता जनाउँदै शान्ति सुरक्षामा सबैको सहयोग आवश्यक रहेको बताए ।

