बिन्धवासिनी साकोसमा अक्कू टोलीद्वारा स्थलगत निरीक्षण तथा अन्तरक्रिया सम्पन्न

 

बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. मा एशियाली ऋण महासंघ (अक्कू) को टोलीद्वारा स्थलगत निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञापन

जेठ ४ गते सोमबार आयोजित कार्यक्रममा अक्कूका प्रमुख प्राविधिक अधिकृत रञ्जिथ हेट्टियाराच्ची नेतृत्वको टोलीले संस्थाको सेवा प्रवाह, वित्तीय व्यवस्थापन, सुशासन अभ्यास तथा समुदायमा आधारित सहकारी सेवाको प्रभावकारिताबारे अध्ययन तथा अवलोकन गरेको थियो।

नेफ्स्कून को समन्वयमा नेपाल भ्रमणमा रहेको उक्त टोलीले विशेषगरी ग्रामीण क्षेत्रमा सहकारीमार्फत वित्तीय पहुँच विस्तार, सदस्य सेवा प्रणाली तथा संस्थागत व्यवस्थापनका पक्षमा चासो व्यक्त गरेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष शान्त कुमार श्रेष्ठ, नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले, सञ्चालक समितिका सचिव तथा एक्सेस कार्यदल संयोजक डोरेन्द्रराज सापकोटा, कोषाध्यक्ष भिम बहादुर खत्री, सञ्चालक सदस्यहरू केशव थापा र सुनिता धिताल लगायत प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तान तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम सञ्चालन सञ्चालक सदस्य केशव थापाले गरेका थिए भने स्वागत मन्तव्य अध्यक्ष शान्त कुमार श्रेष्ठले राखेका थिए। संस्थागत प्रस्तुतीकरण नायब प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे ले गरेका थिए।

अन्तरक्रियाका क्रममा संस्थाले सदस्य केन्द्रित सेवा, प्रविधिमैत्री सेवा प्रवाह, वित्तीय अनुशासन तथा समुदायमुखी कार्यक्रमबारे प्रस्तुतीकरण गरेको थियो। साथै, एक्सेस कार्यक्रमअन्तर्गत संस्थागत सुशासन, सेवा गुणस्तर, सदस्य सन्तुष्टि, वित्तीय पहुँच र सञ्चालन प्रभावकारिताका विषयमा विस्तृत छलफल भएको बताइएको छ।

अक्कू टोलीले संस्थाले अवलम्बन गरेका बचत तथा ऋण व्यवस्थापन अभ्यास, सदस्य सेवा प्रणाली र समुदायमुखी कार्यक्रमको प्रशंसा गरेको छ।

कार्यक्रममा सहकारी क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान तथा सदस्यहरूको आर्थिक सशक्तीकरणमा यस्ता निरीक्षण तथा अन्तरक्रियाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।