भुम्लुका २३५ कृषकलाई मिनी टिलर बितरण

भुम्लु/भुम्लु गाउँपालिकाले कृषिको आधुनिकीकरण तथा प्रतिस्पर्धी, व्यवसायिक कृषि प्रणाली विकास गर्ने लक्ष्यसहित २३५ जना कृषकलाई मिनी टिलर (ट्याक्टर) वितरण गरेको छ ।

 

बिज्ञापन

गाउँपालिका कृषि विकास शाखाको अग्रसरतामा सम्पन्न कार्यक्रममार्फत किसानलाई सहुलियत दरमा कृषि उपकरण उपलब्ध गराइएको हो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतले वितरण गरिएका ट्याक्टरहरूको गुणस्तर सुनिश्चित गर्न विशेष ध्यान दिइएको बताउँदै कृषकका वास्तविक समस्या पहिचान गरी आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाले बजार मूल्य ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्ने ७ एचपी पेट्रोल इन्जिन ट्याक्टर तथा ५५ हजारदेखि ६५ हजार रुपैयाँसम्म पर्ने डिजेल इन्जिन ट्याक्टर ई–बिड प्रक्रियामार्फत खरिद गरेको जनाएको छ । ती उपकरण किसानको ५० प्रतिशत लागत साझेदारीमा क्रमशः १३ हजार ३५० रुपैयाँ र २३ हजार २५० रुपैयाँमा उपलब्ध गराइएको हो ।

विभिन्न वडाबाट आर्थिक रूपमा विपन्न, पिछडिएका समुदायका, विगतका आर्थिक वर्षमा अनुदान नलिएका तथा सरकारी तलब सुविधा नलिने वास्तविक कृषकलाई सिफारिसका आधारमा ट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ। यसअन्तर्गत २२५ थान पेट्रोल र १० थान डिजेल गरी कुल २३५ थान मिनी टिलर वितरण गरिएको हो ।

गाउँपालिकाले कृषकको बढ्दो मागलाई मध्यनजर गर्दै केही दिनभित्र थप ६१ थान मिनी टिलर वितरण गर्ने योजना रहेको अधिकृत कृष्ण केसिके जानकारी दिए । श्रम बचत, उत्पादन लागत न्यूनीकरण तथा कृषि उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले यसलाई आत्मनिर्भर र व्यवसायिक कृषि प्रणाली विकासतर्फ महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।