लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

काभ्रेको वनेपा नगरपालिका वडा नं ८ अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ अौ बार्षिकोत्सब “रजत जयन्ती” तथा अभिभावक दिवसको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालयका निर्देशक तथा कार्यक्रमका सभापति शिशिर भण्डारीका अनुसार उक्त रजत जयन्ती तथा अभिभावक दिवस कार्यक्रम आज र भोलि गरि दुई दिनको हुनेछ।

बिज्ञापन

उनका अनुसार यस रजत जयन्ती कार्यक्रममा नियमित बार्षिकोत्सबमा जस्तै एस. ई. ई. विदाई तथा अभिभावक सम्मान, शैक्षिक तथा अतिरिक्त कृयाकलापका पुरस्कार वितरण कार्यक्रम, नगर,जिल्ला, प्रदेशमा विभिन्न विधागत उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षक/ शिक्षिका सम्मान कार्यक्रम, रजत जयन्ती सम्म आइपुग्दा विभिन्न साथ, सपोर्ट र योगदान प्रदान गर्नुहुने शिक्षक/ कर्मचारी,  पूर्व संचालक तथा विद्यालयका विभिन्न समितिमा बसेर योगदान गर्नुहुने व्यक्तित्वहरू, शिक्षा र विद्यालयप्रति योगदान गर्नुहुने घरबेटीलाई सम्मान गर्ने र विद्यार्थीहरूका तहगत र विधागत विभिन्न प्रतिभा र साँस्कृतिक कार्यक्रमहरू हुनेछन ।

विद्यालयको आज सम्पन्न भएको “रजत जयन्ती”  तथा अभिभावक दिवसको पहिलो दिनको कार्यक्रममा भने कक्षा प्ले ग्रुप देखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्नो विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने, सोही लेवलका विद्यार्थीहरूलाई शैक्षिक लगायत विभिन्न अतिरिक्त कृयाकलापमा उनिहरूले प्राप्त गरेका पुरस्कारहरू कार्यक्रममा उपस्थित अतिथिहरू बाट वितरण गरिएको थियो ।

कार्यक्रममा प्रत्येक वर्ष गरिदै आएको विद्यालयका शिक्षक अभिभावक समितिका सदस्य श्री शिबहरि थापाद्वारा निर्मित जे एस डी अक्षेयकोषबाट विभिन्न शैक्षिक सामाग्री आज कक्षा नर्सरी देखि कक्षा तीन सम्मका ३ जना जेहन्दार विद्यार्थीलाई अक्षयकोषकी संरक्षक कल्पना थापा मार्फत वितरण पनि गरिएको थियो ।

विद्यालयको एक्जाम तथा इसिए को-अर्डिनेटर दिपक तामाङको संचालनमा भएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल श्री श्रीकृष्ण श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्यको साथै विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा प्रिन्सिपल श्री कृष्ण श्रेष्ठले भन्नु भयो – “हाम्रो उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गिण विकास र आत्मनिर्भर भविष्य सुनिश्चित गर्नु हो। हाम्रो शिक्षण विधिले उनीहरूलाई सिर्जनशील सोच, समस्या समाधान, क्षमता र नेतृत्व क्षमता सहितको सक्षम युवा/ युवती बनाउने प्रयास गर्दछ।”

उहाँको अनुसार – जस्को लागी विद्यालयले आधुनिक शिक्षण विधिको सोध र कार्यान्वयन, प्रयोगात्मक विज्ञान, कम्प्युटर, सामाजिक कक्षा, पर्याप्त पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, अन्य सन्दर्भ सामाग्री, अतिरिक्त गतिविधिमा जोड, विद्यार्थी केन्द्रित सिकाई, व्यक्तिगत ध्यान र कमजोर विद्यार्थीको सुधारमा विशेष पहल, मानसिक स्वास्थ्य तथा युथ काउन्सिलिङका विशेष कक्षा, बाल क्लब, अभिभावक अन्तरक्रिया,  हप्तामा एक विशेष दिन अतिरिक्त गतिविधिहरू: इनडोर र आउटडोर विवध खेलकुद, एथलेटिक्स , नृत्य, म्युजिक, चित्रकला, गायन, मार्सल आर्ट, हस्तलेखन आदिको आयोजना र व्यवस्थित यातायात प्रवाहको साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको लागि छात्रवृत्ति, सामाजिक उत्तरदायित्वबोधका लागि सहयोग कार्यक्रम गर्दै आएको कुरा  बताउनु भयो ।

आगामी दिनमा अझै अभिभावकले खोजेको कम्प्लिट शैक्षिक गन्तव्यको रूपमा लिन स्कुललाई अगाडि बढाउने स्कुल प्रशासनको योजना रहेको पनि उहाँको भनाई थियो । श्रेष्ठले हाल विद्यालयमा करिब ६ सय जना विद्यार्थीहरुले अध्ययन गरिरहेको पनि बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सन केन्द्रका सचिवालय सदस्य हिरा शर्मा नेपालले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयको ठूलो भूमिका रहेको बताउदै अवको नेपालको शैक्षिक विकासमा अझै “निजी र सार्वजनिक दुवैको समन्वित शक्ति” अपरिहार्य रहेको बताउनु भयो। राज्यले निजी विद्यालयलाई रोक्ने होइन, सुदृढ नियमन, सहकार्य, पारदर्शिता र गुणस्तरीय प्रतिस्पर्धामार्फत उपयोग गर्नु नै नेपालको शैक्षिक विकासको दीर्घकालीन योजना हुनु पर्ने बताउनु हुँदै- आज लिन स्कुल बनेपामा उच्च स्तरीय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने संस्थाको रूपमा अग्रपंक्तिमा रहेको कुरा बताउनु भयो ।

आज सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतका व्यक्तिहरूले विद्यालयको कार्यक्रम सफलताको साथै विद्यालयको आगामी यात्रा र यहाँ अध्ययनरत विद्यार्थीहरूको उज्वल भविष्यको लागि शुभकामना मन्तब्य राखेका थिए ।