
पुण्यतिथिमा प्रेरणादायी उदाहरण: अनिला कायस्थद्वारा विद्यालयका बालबालिकालाई स्टेसनरी सहयोग

काभ्रे – बनेपा नगरपालिका वडा नं. ७ निवासी समाजसेवी अनिला कायस्थले आफ्ना स्वर्गीय बुबा रामचन्द्र कायस्थको १८औँ वार्षिक पुण्यतिथिको अवसरमा बनेपा नगरपालिका वडा नं. १० थापागाउँस्थित श्री धर्मज्योति आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरूलाई स्टेसनरी सामग्री सहयोग गरेकी छन्।

कायस्थले १,००८ थान कापी, ५०० थान पेन्सिल, ३० बक्स रङ (कलर), ३०० थान कटर र ६०० थान इरेजर वितरण गर्दै शिक्षामा सानो सहयोग पनि ठूलो अर्थ राख्ने सन्देश दिएकी छन्।
कार्यक्रममा बोल्दै समाजसेवी अनिला कायस्थले भनिन्,
“बुबाको पुण्यतिथिमा उहाँले सिकाउनुभएको मानवीय मूल्य र शिक्षाको महत्व सम्झँदै विद्यालयका बालबालिकालाई सानो सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनेछु।”


कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. १० का वडाध्यक्ष चन्द्रबहादुर खड्काले कायस्थ परिवारको कार्यको प्रशंसा गर्दै भने,
“पुण्यतिथिलाई सामाजिक सेवासँग जोड्नु अत्यन्तै प्रेरणादायी काम हो। यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ। विद्यालय र विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी गरिएको सहयोग प्रशंसनीय छ।”
विद्यालयका प्रअ रामहरि थापाले सहयोगप्रति आभार व्यक्त गर्दै भने,“विद्यार्थीहरूका लागि शैक्षिक सामग्री अत्यन्त आवश्यक हुन्छ। यस किसिमको सहयोगले बालबालिकाको अध्ययनमा उत्साह थप्ने विश्वास लिएका छौं। समाजसेवी अनिला कायस्थप्रति विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज थापाले पनि यस कार्यलाई अनुकरणीय कदमको संज्ञा दिँदै समुदायमा सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने उल्लेख गरे।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य सबरकुमार प्रजापति, समाजसेवी कायस्थका छोरीहरू अलिना श्रेष्ठ, अलिशा श्रेष्ठ, अभिलाषा श्रेष्ठ तथा नातिनीहरू एरिक मोक्तान र एफ्रिन प्रजापति लगायतको उपस्थिति रहेको थियो।
समाजसेवी कायस्थले यसअघि पनि आफ्ना आमाबुबाको वार्षिक पुण्यतिथिको अवसरमा जिल्लाका विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गर्दै आएकी छन्। उनका यस्ता कार्यले समाजमा सेवाभाव र सकारात्मक संस्कारको सन्देश फैलाइरहेको स्थानीयवासीको भनाइ छ।



