व्यवहारिक र प्रविधिमैत्री शिक्षाको नमूना बनेको चण्डेश्वरी सृष्टिकान्त माविको प्रदर्शनी

बनेपा । चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा विद्यार्थीको सिकाइलाई व्यवहारिक, सिर्जनात्मक र दिगो बनाउने उद्देश्यसहित वृहत शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ।

प्रदर्शनीको अवलोकन बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा दाहाल, बनेपा–४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, छिमेकी विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले गरेका थिए।

बिज्ञापन

प्रदर्शनी अवलोकन गर्दै नगर प्रमुख शाक्यले यस्ता शैक्षिक कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान र अनुसन्धानमुखी सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिन आग्रह गर्दै चण्डेश्वरी सृष्टिकान्त मावि आइएसओ मान्यता प्राप्त देशकै पहिलो विद्यालय बन्न सफल भएकोमा विद्यालय परिवारलाई बधाई ज्ञापन गरे। नगरपालिकाले गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक शिक्षामा विशेष जोड दिँदै आएको उनको भनाइ थियो।

उप–प्रमुख विमला सापकोटा दाहालले पुस्तकमा सीमित ज्ञानलाई सीप र व्यवहारसँग जोडेर प्रस्तुत गर्दा सिकाइको दायरा फराकिलो हुने बताइन्। शैक्षिक प्रदर्शनीले शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउने पनि उनले उल्लेख गरिन्।

वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामसुन्दर श्रेष्ठले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारिक रुपमा समुदायसम्म पुर्‍याउन प्रदर्शनी प्रभावकारी माध्यम बनेको बताए।
प्रधानाध्यापक श्यामप्रसाद पाण्डेले विद्यार्थीको सिकाइ उपलब्धि, प्रतिभा र सिर्जनात्मक क्षमताको प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी आयोजना गरिएको जानकारी दिए। शैक्षिक उपलब्धि वृद्धिमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।

सहायक प्रधानाध्यापक भीमसेन हुँमागाईंका अनुसार प्रदर्शनीमा विज्ञान, गणित, नेपाली, सामाजिक विषयसँग सम्बन्धित विविध सिर्जनात्मक गतिविधि समेटिएका थिए। विद्यार्थीहरूले सांस्कृतिक परम्परा, दैनिक जीवन तथा समसामयिक विषयसँग सम्बन्धित प्रस्तुति दिएका थिए।

प्रदर्शनीमा धिमे बाजा, मुरली, बाँसुरी, सारंगी, मादललगायत परम्परागत बाजा, विभिन्न जातीय पहिरन, परम्परागत हातहतियार तथा स्थानीय उत्पादनबाट तयार गरिएका डोको, डालो, नाम्लो जस्ता सामग्री राखिएका थिए। साथै रैथाने खाद्यान्न बालीहरू पनि विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।

कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले समसामयिक घटनासँग सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए। जेन–जी आन्दोलनअघि रहेको संसद भवन र आन्दोलनपछि जलेको भवनको नमूना एकैसाथ प्रस्तुत गर्दै उनीहरूले आन्दोलनको पृष्ठभूमि र सन्देश व्याख्या गरेका थिए। संसद नियम र कानुन निर्माणको केन्द्र भएकाले संसद भवनलाई प्राथमिकतामा राखिएको र परिवर्तनका लागि भएको आन्दोलनका रूपमा जेन–जी आन्दोलनलाई जोडिएको उनीहरूको भनाइ थियो।