कांग्रेसमा विशेष महाधिवेशन विवाद, पार्टी विभाजनको चर्चा

# कांग्रेसमा विशेष महाधिवेशन विवाद, पार्टी विभाजनको चर्चा
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, पुष १८, २०८२
कांग्रेसमा विशेष महाधिवेशन विवाद, पार्टी विभाजनको चर्चा

काठमाडौँ : नियमित महाधिवेशन स्थगनको सूचना सार्वजनिक भएसँगै नेपाली कांग्रेसभित्र आन्तरिक राजनीतिक तनाव बढ्दै गएको छ। नियमित महाधिवेशन रोकिए पनि विशेष महाधिवेशन गर्नुपर्ने दाबी गर्दै पार्टीका महामन्त्रीद्वयले प्रक्रिया अघि बढाउने बताएपछि पार्टी विभाजनको चर्चासमेत सुरु भएको छ।

यही आन्तरिक विवाद समाधानका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्दैछ। बैठकमा सहभागी हुन नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा पुग्ने क्रम जारी छ।

बिज्ञापन
विशेष महाधिवेशनसम्बन्धी प्रतिवेदन लेखनका लागि धुलिखेल गएका महामन्त्री गगन थापा आज बिहानै काठमाडौं फर्किएका छन्। उनी पनि बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय जाँदै छन्।

नियमित महाधिवेशनको कार्यतालिका अघि नबढेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन्। यसैबीच, विशेष महाधिवेशन पक्षधर केही नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन वैधानिक बाध्यता भएको दाबी गरेका छन्।

तर पार्टी सभापति शेरबहादुर देउवा पक्ष भने आम निर्वाचन नजिकिँदै गर्दा विशेष महाधिवेशन उपयुक्त नहुने अडानमा छ। संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशन अघि बढे पार्टी विभाजनको जोखिम हुने बताउँदै आएका छन्।

यस विषयमा छलफल गर्नका लागि कार्यसम्पादन समिति बैठक बोलाइएको हो। बैठकअघि सभापति देउवाले आफ्ना निकट नेताहरूसँग परामर्शसमेत गरेका छन्। साथै, केही केन्द्रीय सदस्यहरूले दुवै पक्षसँग भेट गरी पार्टी विभाजनको सम्भावनाप्रति ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up