“मलाई प्रधानमन्त्री बन्नु छ”

 

नन्दलाल खरेल

बिज्ञापन

मलाई प्रधानमन्त्री बन्नु छ।
पार्टी चाहिँदैन, विचार चाहिँदैन, नीति त झन् पुरानो कुरा भयो।
मसँग चाहिएको एउटै चीज छ—माइक र ड्रोन।

भाषण छोटो, क्याप्सन ठूलो।
कुनै प्रश्न आए—“प्राविधिक कुरा हो।”
कुनै योजना मागे—“काम गरेर देखाइदिन्छु।”
काम के हो भनेर सोध्यो भने—“पहिले हटाउँछु, पछि बनाउँछु।”

संविधान जटिल लागे स्टाटस लेखिन्छ,
संघीयता गाह्रो लागे नक्सा बनाइन्छ।
राजनीति फोहोर लागे—झाडुअ उचालिन्छ,
तर झाडु कसले चलाउने हो, त्यो चाहिँ अस्पष्ट।

मलाई प्रधानमन्त्री बन्नु छ,
किनकि भीड ताली बजाउँछ,
र ताली बज्यो भने—दिमाग भुटिन्छ, प्रश्न उम्लँदैन।
अन्ततः शासन होइन, यहाँ शो चल्छ।