
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाबाट संघको नयाँ सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीहरू निर्वाचित हुनुका साथै सहकारी अभियानमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

साधारणसभाबाट उदयाराम कायस्थ संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उपाध्यक्ष पदमा निर्वाचन प्रक्रियामार्फत निर्मला श्रेष्ठ निर्वाचित हुनुभएको हो भने अन्य पदहरूमा पदाधिकारी तथा सदस्यहरू निर्विरोध रूपमा चयन भएका छन्।

संघको सचिव पदमा राजन अधिकारी र कोषाध्यक्ष पदमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ। यस्तै, सञ्चालक समितिका सदस्यहरूमा राजन सापकोटा, श्रीकृष्ण न्यौपाने, दिनोद सापकोटा र जान्दवी अधिकारी, चन्द्रा श्रेष्ठ निर्वाचित हुनुभएको छ।


यसैगरी, लेखा समितितर्फ शिवप्रसाद अधिकारी लेखा संयोजक, नवराज के.सी. र राजकुमार आचार्य लेखा सदस्यमा निर्वाचित हुनुभएको छ।
साधारणसभाको अवसरमा सहकारी अभियानको प्रवर्द्धन, जिल्लाभरका सहकारी संस्थाको अवस्था, गतिविधि तथा अभियानबारे निरन्तर कलम चलाउँदै आएको योगदानको कदर गर्दै युवा पत्रकार अरबिन्द्र गौतमलाई नगदसहित सम्मान गरिएको थियो। साथै सहकारी अभियानमा उल्लेखनीय योगदान पुर्याउने अन्य सहकारीका प्रबन्धक, सहकारी संस्था तथा निवर्तमान संचालकसदस्यहरु रमेश न्यौपाने लगायत व्यक्तित्वहरूलाई पनि सम्मान प्रदान गरिएको संघले जनाएको छ।
नव–निर्वाचित अध्यक्ष उदयाराम कायस्थले सहकारी अभियानलाई नीति, विधि र मूल्य–मान्यतामा आधारित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्य–केन्द्रित सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने, सुशासन प्रवर्द्धन गर्ने तथा सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूको सामूहिक समाधान खोज्ने लक्ष्य रहेको बताउनुभयो।
साधारणसभामा संघले विगत चार वर्षमा गरेको कार्यसम्पादनको समीक्षा, सहकारीका सवाल तथा वर्तमान सहकारी क्षेत्रको अवस्थाबारे प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले राख्नुभएको थियो।
संघको वार्षिक प्रतिवेदन सचिव सुरेन्द्रप्रसाद पौडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवन श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शिवप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो।
संघले आर्थिक वर्ष २०८१/०८२ मा शेयर लगानी: रु. ६८ लाख ४० हजार १०० ऋण लगानी: रु. ४६ करोड ८७ लाख ४१ हजार वित्तीय लगानी: रु. ३१ करोड रहेको जानकारी दिएको छ।
साधारणसभामा जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, सरोकारवाला निकायका व्यक्तित्व तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नव–निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी अभियानको सुदृढीकरणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए।



