
बनेपा, काभ्रे,
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा शनिबार एक बृहत शैक्षिक प्रदर्शनी मेला भव्य रूपमा सम्पन्न भएको छ ।

विद्यार्थीहरूमा व्यावहारिक ज्ञान, सिर्जनशीलता र अनुसन्धानमुखी सोचको विकास गर्ने उद्देश्यले आयोजित उक्त मेला अभिभावक, शिक्षक तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतिष्ठानको प्राङगणमा बिहान १०ः३० बजेदेखि सुरु भएको प्रदर्शनी मेलामा विज्ञान, प्रविधि, वातावरण, कृषि, स्वास्थ्य, रोबोटिक्स, कला तथा हस्तकला लगायत विविध विषयका परियोजनाहरू प्रस्तुत गरिएका थिए । कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले आ–आफ्ना उमेर र कक्षा अनुसारका सिर्जनात्मक सामग्रीहरू प्रदर्शन गरेका थिए, जसले आगन्तुकहरूको ध्यान विशेष रूपमा आकर्षित गरेको थियो ।


मेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले गरेका थिए । वैद्यले यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर प्रदान गर्ने बताए ।
“पुस्तकमा सीमित शिक्षा पर्याप्त हुँदैन, प्रयोगात्मक सिकाइले मात्र विद्यार्थीलाई भविष्यका चुनौतीका लागि तयार बनाउँछ,” उनले भने।
प्रदर्शनीमा विशेष आकर्षणको रूपमा कक्षा ९ र १० का विद्यार्थीहरूले तयार पारेका ‘ज्ञानकुञ्ज विद्यालयको’ मोडेल, मानव प्रणालीहरु तथा सौर्य ऊर्जाका नमुनाहरू रहेका थिए । त्यस्तै, साना बालबालिकाहरूले बनाएका रङ्गीन चित्रकला, हस्तनिर्मित खेलौनाहरू र पुनःप्रयोग गरिएका सामग्रीबाट तयार गरिएका सजावटी वस्तुहरूले पनि आगन्तुकको मन जितेका थिए ।
अभिभावकहरूले आफ्ना छोराछोरीको प्रतिभा नजिकबाट अवलोकन गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । एक अभिभावक अस्मिन थापाले भने, “हामीले घरमा देख्ने भन्दा धेरै फरक क्षमता यहाँ देख्न पायौं । बच्चाहरूले यति राम्रा कुरा सिकिरहेका रहेछन् भन्ने थाहा पाउँदा गर्व लागेको छ ।”
विद्यालयका सहायक प्रिन्सिपल नमराज दाहालका अनुसार प्रदर्शनी मेलाको मुख्य उद्देश्य विद्यार्थीहरूमा अनुसन्धानमूलक सोच, टिमवर्क र समस्या समाधान गर्ने क्षमता विकास गर्नु हो । “हामी पाठ्यपुस्तक केन्द्रित शिक्षालाई मात्र होइन, व्यवहारिक र जीवनोपयोगी शिक्षालाई पनि प्राथमिकता दिन्छौँ । यो मेला त्यसैको एउटा सशक्त उदाहरण हो,” उनले बताए । मेलामा स्थानीय अभिभावक तथा समुदायको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । धेरै आगन्तुकहरूले भविष्यमा पनि यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्न सुझाव दिएका थिए ।
संस्थाले सहभागी सबै विद्यार्थी, शिक्षक, अभिभावक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी शैक्षिक मेलामा स्तरीय प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । यस किसिमका कार्यक्रमहरूले शिक्षालाई जीवनसँग जोड्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।


