काभ्रे माध्यमिक विद्यालयमा फुड फेस्टिवल सम्पन्न, विद्यार्थीहरूको सिर्जनशीलता झल्किने दर्जनौँ परिकार प्रदर्शन

 

बनेपा–बुडोलस्थित काभ्रे माध्यमिक विद्यालयमा आयोजित फुड फेस्टिवल कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूले आफ्नै हातले बनाएर प्रस्तुत गरेका दर्जनौँ स्वादिष्ट परिकारले विद्यालय परिसरलाई रंगीन र जीवन्त बनायो।

बिज्ञापन

विद्यालयका प्रधानाध्यापक कुमार मानन्धरका अनुसार, फुड फेस्टिभलले विद्यार्थीहरूको सीप विकास, व्यवहारिक शिक्षा र समूहमा काम गर्ने क्षमता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
“विद्यार्थीहरूले सिर्जनात्मक परिकार बनाउनुका साथै त्यसको प्रस्तुति, मूल्य निर्धारण र व्यवस्थापनसमेत आफैंले सम्हाले। यस प्रकारका कार्यक्रमले विद्यार्थीसँगै अभिभावक पनि खुसी भएका छन्,” मानन्धरले बताए।

कार्यक्रममा सहभागि विद्यार्थीहरूले फुड फेस्टिबलका बारेमा उत्साह व्यक्त गर्दै व्यवहारिक शिक्षा कक्षाभन्दा पनि बढी सिकाइ भएको प्रतिक्रिया दिएका छन्।
कक्षा १० की एक छात्राले भनिन्, “हामीले बनाएको खानेकुरा अभिभावक र शिक्षकले रुचाएर खाँदा धेरै खुशी लाग्यो। यसले आत्मविश्वास बढायो।”
यस्तै, अर्का विद्यार्थीले भने, “हामीले समूहमा मिलेर काम गर्दा नेतृत्व, समय व्यवस्थापन र ग्राहकसँग व्यवहार कसरी गर्ने भन्ने अनुभव पनि भयो।”

फुड फेस्टिबल अवलोकन गर्न अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। विविध नेपाली, भारतीय तथा कन्टिनेन्टल परिकारहरूको आकर्षक स्टलहरूले कार्यक्रमलाई थप रोचक बनाएका थिए।

विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै विद्यार्थीको प्रतिभा र व्यावहारिक सीपलाई अझ सुदृढ बनाउन आगामी दिनमा थप सिर्जनात्मक कार्यक्रम ल्याइने जनाएको छ।