
काठमाडौँ । विपद्को समयमा उपभोक्ताको समस्याको फाइदा उठाउँदै ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा उक्त ग्यास बरामद गरेको हो।
बिज्ञापन

कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक ३८ वर्षीय दिनेश लुइँटेललाई पक्राउ गरेको छ। लुइँटेल मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय रहेको प्रहरीले जनाएको छ।


विपद्को बेला जनताको आवश्यकता र अभावलाई मौकाका रूपमा प्रयोग गरी कालोबजारी गर्नेविरुद्ध प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको जनाएको छ।

