चुनाव समस्याको समाधान होइन : अध्यक्ष लिङ्देन

# चुनाव समस्याको समाधान होइन : अध्यक्ष लिङ्देन
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, मंसिर २४, २०८२
चुनाव समस्याको समाधान होइन : अध्यक्ष लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ महिनामा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई लत्याउँदै त्यसको दुई दिन नबित्दै प्रतिगमन भएको टिप्पणी गरेका छन्।

आज राजधानीमा आयोजित राप्रपाको विरोध सभालाई सम्बोधन गर्दै उनले व्यवस्थामा रहेका त्रुटिहरूलाई सुधार नगरी केवल चुनावमा जानुले समस्यालाई मात्र पर धकेल्ने काम गर्ने बताए। उनले स्पष्ट पारे कि जनता र युवाहरूको आक्रोश केवल प्रधानमन्त्री केपी ओलीको परिवर्तनका लागि मात्र थिएन।

बिज्ञापन

उनले भने, “जनताको आक्रोश केवल त्यो बेलाको प्रधानमन्त्रीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर बालुवाटार वा सिंहदरबारमा राख्नका लागि मात्र थिएन।”

लिङ्देनले भने, “विगतमा राजा र राजनीतिक दलहरू बीच नयाँ समझदारी आवश्यक थियो भन्ने कुरा हामीले भनेका थियौं, तर दलहरूले त्यसलाई मजाक बनाइदिए। हामीले भनेका थियौँ– तपाईंहरू सुधार्नुहुन्न भने भाग्नुपर्ने दिन आउन सक्छ। त्यो कुरा हाँसीमजाकमा उडाइयो, उल्टै हामीलाई भाग्नुपर्ने भन्दै हाँस्यामा उडाइएको थियो। तर आज देशमा त्यही अवस्था आएको छ।”

अध्यक्ष लिङ्देनले आगामी २०८४ को चुनाव २०८२ मा नगरी केवल मान्छे फेर्ने कामले देशको समस्याको समाधान नहुने दाबी गरे। “अब चुनाव गरेर मात्रै देशलाई अघि लैजाने हो भने त्यो भ्रम हुनेछ,” उनले भने।

अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र प्रणालीमार्फत गरिने चुनावले समस्याको समाधान नदिने भन्दै आक्रोश पोखे। “जेनजी आन्दोलनको दुई दिन नबित्दै प्रतिगमन भयो। उही चुनाव र उही व्यक्ति परिवर्तन भए। यो समस्याको समाधान होइन,” उनले निष्कर्ष निकाले।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up