
काठमाडौँ : मलेखु सडक खण्ड एक सातासम्म आंशिक रूपमा बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाले सडक कालोपत्र गर्ने र स्तरोन्नति गर्ने कामलाई तीव्रता दिन मङ्सिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टाका लागि यातायात आवागमन बन्द गर्ने निर्णय गरेको हो।

सडक आयोजनाले निकालेको सूचनामा अनुसार, नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म आवागमन बन्द हुनेछ। यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न र यात्रा समयलाई सो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको छ।

नागढुङ्गा–नौबिसे सडक खण्डको कालोपत्र गर्ने कार्य हाल जारी छ। काठमाडौँ जिल्लामा पर्ने नागढुङ्गा–पिप्लामोड खण्डलाई उच्च प्राथमिकतामा राखिएको छ भने, धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने बताइएको छ। सडकमा गह्रौँ उपकरण र ढुवानी साधन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले, सडक आंशिक रूपमा बन्द गरेर काम गरिने छ।


यो समयमा नागढुङ्गा–पिप्लामोड खण्डमा काठमाडौँतर्फबाट आउने सवारीलाई नागढुङ्गा चेकपोष्टमा रोक्ने र गल्छीबाट काठमाडौँतर्फ जाने सवारीलाई खानीखोला र जुँगेखोलामा रोक्ने व्यवस्था गरिएको छ। गल्छी–गजुरी खण्डमा नौबिसेतर्फबाट आउने सवारीलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतर्फबाट नौबिसेतर्फ आउने सवारीलाई मलेखु क्षेत्रमा रोकिनेछ।
अत्यावश्यक अवस्थामा साना र मझौला गाडीहरूले सीतापाइला–भिमढुङ्गा–रामकोट–धार्केको सडक र सामाखुसी–टोखा–छहरे हुँदै गल्छी जाने वैकल्पिक बाटो प्रयोग गर्न सक्नेछन्। एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल र शव वाहनजस्ता अत्यावश्यक गाडीहरू भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न सक्नेछन्।


