
सातदलीय सहमतिको आधारमा कांग्रेस नेतृत्वको सरकार

जनकपुरधाम — मधेश प्रदेशमा राजनीतिक अस्थिरता लामो समयदेखि निरन्तर भइरहेका बीच नेपाली कांग्रेसका कृष्णप्रसाद यादव प्रदेशका छैटौँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार साँझ संविधानको धारा १६८(२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीलाई ७७ सांसदको समर्थन


मधेश प्रदेशमा हाल १०३ जना प्रदेशसभा सदस्य छन्। जसमा ७७ जनाको समर्थन प्राप्त गर्दै यादवले बहुमतको दाबी गरेका थिए।
उनीसँग कांग्रेस (२२), जसपा (१८, एक निलम्बित), जनमत (१३), लोसपा (८, एक निलम्बित), माओवादी केन्द्र (९), एकीकृत समाजवादी (७) तथा नागरिक उन्मुक्तिकी उर्मिला देवी सिंहको समर्थन छ।
आइतबार मुख्यमन्त्री यादवको सपथ
प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत शत्रुधन यादवका अनुसार नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार गराइनेछ। यादवले प्रारम्भिक रूपमा सबै सात दलबाट एक–एक जना मन्त्री सहित शपथ लिने बताए।
विश्वासको मत लिएपछि मात्र पूर्ण मन्त्रिपरिषद् टुंगो लगाइने बताईएको छ। त्यतिबेलै पद रिक्त रहेको सभामुख चयन पनि हुने सातदलीय गठबन्धनले जनाएको छ।
मधेशको पछिल्लो राजनीतिक उतार–चढाव
जेन–जी आन्दोलनपछि मधेश प्रदेशमा राजनीतिक अस्थिरता कडा रूपमा देखिएको छ।
गत चार महिनामै तीन मुख्यमन्त्री फेरिए भने यादव प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन्।
यसअघि क्रमशः—जसपाका लालबाबु राउत, कांग्रेस समर्थित सरोजकुमार यादव (बारा), जनमतका सतीशकुमार सिंह, लोसपाका जितेन्द्रप्रसाद सोनल र एमालेका सरोजकुमार यादव (महोत्तरी)
ले मधेस प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए।
एमालेका यादवले विश्वासको मत नपाएपछि राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो।
कृष्णप्रसाद यादवको यात्रा: संविधानसभा सदस्यदेखि मुख्यमन्त्रीसम्म
रौतहट–८, बरियारपुरमा २०२४ भदौ ९ मा जन्मिएका यादव राजनीतिक परम्पराका परिवारबाट आएका व्यक्ती हुन्।
उनका बुबा रामचन्द्र यादव २०५४ मा कांग्रेसबाट गाविस अध्यक्ष थिए।
२०४६ पछि कांग्रेस राजनीतिमा सक्रिय बनेका यादव २०६४ को संविधानसभा चुनावमा रौतहट–४ बाट विजयी भएका थिए।
२०६७ देखि दुई कार्यकाल रौतहट कांग्रेस सभापति, त्यसपछि मधेश प्रदेश कांग्रेस सभापति, २०७९ मा प्रदेशसभा सदस्य (रौतहट–१ ‘ख’) र कांग्रेस संसदीय दलको नेता (पुस १४) हुन् यादव।
यसअघि मधेश सरकारमा भौतिक पूर्वाधार मन्त्री भएका नयाँ मुख्यमन्त्री यादव कृषिमा स्नातक हुन्। पार्टीभित्र शान्त र सहमतिको राजनीति गर्ने नेताका रूपमा लिईइन्छ।
अबको राजनीति : विपक्षीमा एमाले र संघीय समाजवादी
नयाँ सरकारको विपक्षीमा एमाले (२५, एक निलम्बित) र नेपाल संघीय समाजवादी रहनेछन्।
राप्रपाका सदस्य कञ्चन बिच्छालाई कारबाहीपछि पदमुक्त गरिएकाले मधेस प्रदेशसभामा ९ दलको मात्र प्रतिनिधित्व छ।


