न्याय, प्रशासन र सुरक्षाबीच अन्तर–समन्वय बैठक काभ्रेमा

काभ्रेपलाञ्चोक जिल्ला अदालतका प्रमुख न्यायाधीश मातृका प्रसाद आचार्यको अध्यक्षतामा बागमती प्रदेश प्रहरी कार्यालय, मकवानपुर हेटौंडा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबीचको कार्यसम्पादन सम्झौता अनुरूप अन्तर–समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ। बैठक जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सभाहलमा मंसिर १९ गते बसेको हो।

बैठकमा जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था, फौजदारी कसुरसम्बन्धी अनुसन्धान, अभियोजन तथा न्याय सम्पादनका क्रममा देखिन सक्ने समस्या र त्यसका समाधानबारे विस्तृत छलफल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिज्ञापन

बैठकमा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता कृष्ण भण्डारी, जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्की गेलाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, जिल्ला बार इकाई काभ्रेपलाञ्चोकका अध्यक्ष हरीशरण दाहाल लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

त्यसैगरी इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती, प्रहरी निरीक्षक तथा अन्य प्रहरी कर्मचारीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।