


पनौती । काभ्रेको पनौती नगरपालिका वडानम्बर ५, श्रीखण्डपुरमा रहेको सेन्टलम एल्बम एकेडेमीमा बुधबारदेखि स्पोर्टस् मिट–२०८२ शुरु भएको छ । एक कार्यक्रमका बीच पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।


तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विभिन्न ६७ इभेन्टमा ३२७ जना विद्यार्थीले प्रतिश्पर्धा गर्ने विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । यस प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले नगरपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने उहाँले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथीसमेत रहनुभएका नगरप्रमुख भण्डारीले खेल मानव जीवनमा अभिन्न अंगको रुपमा रहेकाले यसलाई पढाईसँगसँगै अघि बढाउन विद्यार्थीलाई अनुरोध गर्नुभयो । उहाँले स्कुलले बेलाबेलामा यस्ता प्रतियोगिता गरेर आफूलाई अग्रपंक्तिमा उभ्याउन सफल भएको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथी पनौती वडानम्बर ५ का वडाध्यक्ष बिनोद खत्रीले खेलकुद विद्यार्थीको मात्र नभएर सबैको स्वास्थ्यका लागि अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले वडाले खेलकुदलाई पनि विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालय संचालक समितिका अध्यक्ष अमन पोटे श्रेष्ठले विद्यालयले पढाइ र खेलका साथै अन्य अतिरिक्त क्रियाकलापका कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको र आगामी दिनमा पनि यसलाई नरोक्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई कार्तिक २१ गते एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिने प्रिन्सिपल ज्ञवालीले जानकारी दिनुभयो ।


