



बनेपा, भदौ २० – मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आदर्श विद्या मन्दिर (ABM) स्कुल र बनेपा आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।


विद्यालयको तर्फबाट अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभापतित्वमा राष्ट्रिय मानव अधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्ले, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वाती, आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष रामकृष्ण आचार्य लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहायक प्रवक्ता काफ्लेले भने, “मानव बेचविखनविरुद्ध लड्न शिक्षा र सचेतनाले महत्वपूर्ण भूमिका खेल्छ, यसमा विद्यार्थीहरुको सक्रियता अझ जरुरी छ ।”
त्यसैगरी प्रहरी प्रमुख त्वातीले जोड्दै भने, “मानव बेचविखन अपराधमात्र होइन, मानवताको अपमान हो । यसलाई रोक्न प्रहरी, समुदाय र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक छ ।”
विद्यालय अध्यक्ष तिमल्सिनाले विद्यार्थीलाई सन्देश दिँदै भने, “हामीले आजका पुस्तालाई सजग बनाउँदा मात्रै भोलिका दिनमा यो समस्या न्यून हुन्छ ।”
कार्यक्रमको संचालन मानव अधिकारकर्मी तथा वरिष्ठ पत्रकार भोजराज तिमल्सिनाले गरेका थिए । साथै, माइती नेपालबाट गायत्री, इन्सेकबाट सुमित्रा आचार्य, क्याम्पस प्रमुख तिर्थराज दाहाल, विद्यार्थी कल्याण परिषद् (SWC) का अध्यक्ष आयुष न्यौपाने र जुनियर रेडक्रस सर्कल ABM अध्यक्ष कृतिका गोइडेल समेत उपस्थित थिए । विद्यार्थी शिक्षकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।