‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ को ट्यालेन्ट राउन्ड बनेपामा सम्पन्न

बनेपा, काभ्रेपलाञ्चोक — ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ प्रतियोगिताको ट्यालेन्ट राउन्ड भव्यताका साथ सम्पन्न भएको छ। सातौं संस्करण अन्तर्गत रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा शुक्रबार बनेपास्थित लिटिल स्टार फन पार्कमा सम्पन्न कार्यक्रमले बालबालिकाको प्रतिभा अभिव्यक्त गर्ने प्रभावशाली प्लेटफर्म प्रदान गरेको आयोजकले बताएका छन्।

प्रतियोगितामा कूल २९ जना बालबालिकाको सहभागिता रहेको थियो, जसमा जुनियर र सिनियर दुबै समूह समावेश थिए। सहभागीहरूले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, चित्रकला लगायत विविध प्रतिभा प्रस्तुत गरेका थिए।

बिज्ञापन

कार्यक्रमका निर्णायकहरुमा काभ्रे प्रेसका प्रधान सम्पादक तथा नव क्षितिज साप्ताहिकको सह-सम्पादक युवा पत्रकार अरबिन्द्र गौतम, मिडिया पर्सन तथा मेकअप आर्टिस्ट लिना डंगोल, कलाकार तथा एक्टिङ कोच प्रमोद बाबु लगायत थिए। निर्णायक टोलीले स्टेजमा प्रस्तुति दिनु नै ठूलो उपलब्धि भएको उल्लेख गर्दै यस्तो कार्यक्रमले बालबालिकाको बहुपक्षीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

बालबालिकाका अभिभावकहरूले प्रतियोगिताको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम काभ्रेको बनेपामा हुनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्।

प्रतियोगितामा छनोट भएका बालबालिका अब विभिन्न प्रशिक्षण चरण पार गर्दै अन्तिम प्रतिस्पर्धातर्फ अघि बढ्नेछन्। अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज परफर्मेन्स, शारीरिक हाउभाउ, सञ्चार क्षमता, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन, र अध्ययन कौशल लगायतका सीपहरूमा उनीहरूलाई विशेष प्रशिक्षण प्रदान गरिनेछ।

फाइनल प्रतिस्पर्धाका लागि कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गर्नेछन् भने फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारको जिम्मेवारीमा हुनेछ।

‘किड्स अफ द इयर इन्टरनेशनल’ प्रतियोगिता बालबालिकाको प्रतिभा उजागर गर्दै आत्मविश्वास, नेतृत्व क्षमता र समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना हुँदै आएको छ।

कार्यक्रमको फाइनल साउन १७ गते बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सन बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिने भएका छन्।