काभ्रेपलान्चोक – सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ।
‘ट्राफिक प्रहरीको आब्हान, सुरक्षित र सहज आवागमन’, ‘ट्रफिक नियमको पालना गरौ, सभ्य नागरिकको परिचय दिऔं’ भन्ने नाराको साथमा ट्राफिक सप्ताहको पहिलो दिन प्रभातफेरी सहित लामो दुरीका सवारी साधनहरुमा ब्यानर तथा स्टिकर टाँस गरिएको थियो । चारदोबाटो चोकबाट शुरु भएको प्रभातफेरी बनेपा पार्टी भेन्युमा समापन गरिएको थियो । सप्ताहको उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
शुक्रबार माघ २६ गते स्वंय सेवक परिचालक गरी सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने, सचेतना स्टिकर टाँस गर्ने, पर्चा पम्लेट वितरण गर्ने कार्यक्रम छ । तेश्रो दिन शनिबार अर्थात माघ २७ गते ग्रामिण सडक लक्षित कार्यक्रम, बढि भाडा अनुगमन, माक्स वितरण र सिट क्षमता भन्दा बढि यात्रु अनुगमन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक जनार्दन घिमिरेले बताए ।
माघ २८ गते आईतबार सवारी चालकहरुसँग ५ मिनेटको कार्यक्रम तथा ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण दिईनेछ । माघ २९ गते सोमबार विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम, गाउँगाउँमा आमा समुह टोल सुधार समिति र युवा क्लवहरुलाई समेत ट्राफिक सचेतना गराईनेछ । फागुन १ गते मंगलबार चालक तथा सह चालकहरुको सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम तथा सवारी साधनहरुको यान्त्रीक परीक्षण गरिनेछ । अन्तिम दिन अथार्त सप्ताहको सातौ दिन फागुन २ गते बुधबार ट्राफिक सप्ताहको उपलब्धी र प्रभावकारिताको बारेमा संचारकर्मी लगायत सरोकारवालाहरुसँग अन्र्तक्रिया गरिनेछ ।