काभ्रेपलान्चोक – खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँं तावर/ह्योई ल्हो (विरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले ल्होछार पर्व मनाउनको लागि आगामी माघ ७, ८ र ९ गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको बताए ।

गाउँपालिकाले विविध कार्यक्रम गरी तीन दिन ल्होछार मनाउने जनाएको छ । अध्यक्ष थिङका अनुसार पहिलो दिन (माघ ७ गते) लामा खेन्पोबाट पुजा, दोस्रो दिन तामाङ भाषाको व्हाईखा (कविता) र ताम्बा/डम्फू गीत प्रतियोगितासँगै तेस्रो दिन बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागिएको हो । गाउँपालिका अध्यक्ष थिङले ल्होछारलाई गाउँपालिकाको साझा पर्वको रुपमा मनाउन ल्होछार मुल आयोजक समितिको सचिवमा गैर तामाङ समुदायको व्यक्तिलाई राखिएको बताए ।

गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मुल आयोजक समिति यसअघि नै गठन भइसकेको छ । गाउँपालिका उपाध्यक्ष तथा समितिका संयोजक जिम्बाले व्हाईखा र ताम्बा प्रतियोगिताका प्रथम, द्धितीय र तृतीयलाई नगद प्रमाणपत्रसहित सम्मान गरिने बताए ।

त्यस्तै उनले ल्होछारको अवसरमा गाउँपालिकाभित्र जन्मिएर विभिन्न क्षेत्रमा योगदान पुऱ्याएका व्यक्तिहरुलाई ‘खानीखोला प्रतिभा सम्मान’ द्वारा सम्मान गरिने बताए । ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार तामाङ समुदायले माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.