कुमार खकुरेल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यका लागि नेकपा (एमाले)बाट उम्मेदवार हुन् । शिक्षण पेशाबाट राजनीति सुरु गरेका खकुरेलसँग पञ्चायतविरुद्धको आन्दोलनदेखि गणतन्त्र स्थापनाको लागि भएका आन्दोलनसम्मका अनुभवमा मात्रै होइन, नेतृत्वको भूमिकामा पनि रहेर काम गरेको ज्ञान छ । वामपन्थी संगठन विस्तार र नागरिकको जीवनस्तर उकास्न निरन्तर लागि परेका खकुरेल पहिलोपटक आम निर्वाचनमा होमिएका छन् । उनीसँग समग्र जिल्लाको विकास गर्ने दीर्घकालीन रणनीति छ । नम्र स्वभावका खकुरेलसँग चुनावी एजेण्डाका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानी

– निर्वाचनमा उम्मेदवार बनेपछिको चुनावी तयारी कसरी गरिरहनु भएको छ ?
हामी आगामी निर्वाचनको तयारीमा जुटेका छौँ । यतिबेला पार्टीका नेताकार्यकर्ता र आम मतदातासँग भेटघाटमा नै ब्यस्त रहेका छौँ । हामीले निर्वाचनको आवश्यकता र अहिले राष्ट्रिय महत्वका विषय तथा काभ्रेमा हाम्रो नेतृत्वको आवश्यकता बारेमा आम नागरिकसँग साक्षात्कार गरिरहेका छौँ । पार्टीको गतिविधिसँगै हामी चुनावी अभियानमा जुटिरहेका छौँ ।

– अभियानमा आम नागरिकहरुका प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
विषेशतः हामीले यतिबेला चुनावी एजेण्डा लिएर मतदातासँगको भेटलाई पनि अगाडि बढाउदै छाँै । उहाँहरुको अपेक्षा भौतिक विकासदेखि मानवीय विकाससम्म रहेको देखिन्छ । हाम्रो निर्वाचन क्षेत्रमा किसानहरुका लागि आवश्यक पर्ने रासायनिक मलदेखि बजारीकरणसम्मका समस्या आइपरेका छन् । रोजगारी सिर्जना, उद्योग सञ्चालन, पर्यटन व्यवसाय दीर्घकालीन व्यवस्थापन र आवश्यकताका साथै राज्य नभएको अनुभूति आम नागरिकको रहेको छ । गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादनसँगै जोडिएको रोजगारीका विषयहरु उहाँहरुका आवश्यकताका विषयहरु हुन् ।

– चुनावी योजना कसरी अगाडी बढाउदै हुनुहुन्छ ?
मुलतः आजको आवश्यकता भनेको चुनावी एजेण्डा मात्रै होइन । ती एजेण्डालाई साकार कसरी बनाउने भन्ने नै हो । ती योजनालाई आम नागरिकसँग जोडिएर कसरी अगाडि बढ्ने भन्ने विषयलाई दृष्टिगत गर्दै हामी अगाडि बढेका छौँ । मुलतः प्रदेश सरकारले नागरिकका आवश्यकता र औचित्यमा कसरी जोडिन्छ भन्ने नै हो । हामी हरेक नागरिकसँग जोडिएर काम गर्ने छौँ । दीर्घकालीन विकासमा जोड दिने छौँ । धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका हरेक विकास निर्माण र आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने छौँ ।
यो देशमा राजनीतिक परिर्वतन जसरी भयो त्यसरी नै जनताका आवश्यकतामा परिर्वतन हुन जरुरी छ । हामीले नेपालमा परिर्वतनका काम ग¥यौँ । आर्थिक समृद्धि र विकासको ध्यान हामीले दिएका छौँ । समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा बोकेर हामी यहाँका नागरिकका मनमनमा रहने काम गर्छौँ । नारा मात्रै होइन वास्तविकतामा हामी जोडिने छौँ ।
हाम्रो नेतृत्वमा धेरै काम अगाडि बढेका छन् । ती काम पूरा गर्ने छौं । वास्तवमा जिल्लामा हामीले सुरु गरेका योजनाहरु अहिले वर्तमान सरकारबाट अवरुद्ध पार्ने काम भएको छ । हामी रोकिएका ती परियोजनाहरु सञ्चालन गर्ने छौँ ।

– अब तपाईं निर्वाचित भएपछि काम गर्नु हुन्छ भन्ने आधार के छ ?
हिजो हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिले धेरै राम्रा कामको सुरुवात गर्नुभएको छ । भुकम्पबाट ध्वस्त संरचनाको निर्माण, थुप्रै सडक, पुल, खानेपानीका परियोजना, स्वास्थ्य संस्थाको निर्माण, विश्वविद्यालय निर्माणको प्रक्रिया, पर्यटन विकासका अभियान, सिचाइ संरचना निर्माण, विद्यालयहरुमा नयाँ प्रविधिको विकास हाम्रो नेतृत्वमा भएका छन् । हामीले भोलि पनि यही नागरिकको बीचमा रहेर धेरै काम गर्ने छौं । अहिलेको गठबन्धनले जसरी जनतामा निराशा पैदा गरेको छ, त्यो हामीबाट कदापी हुन दिने छैनौँ । अहिले किसानको खेतबारीमा मल अभाव छ । कृषि प्रधान देशमा त्यो पनि हाम्रो जस्तो जिल्लामा यसरी रासायनिक मल अभाव हुँदा किसान कति मारमा परेका छन् ? उता महङ्गीले तल्लो वर्गमा कति असहज स्थिती बनाएको छ । उहाँहरुको डेढ वर्षमा नै नागरिकप्रति राज्य कति गैरजिम्मेवार रहेछ भनेर देखाएको छ । तर हामी नागरिककै लागि हौँ भनेर देखाउने छौँ । हिजो हामीले सुरु गरेका परियोजनाले पनि हामीप्रति विस्वास जागृत गरेको छ ।

– यो क्षेत्रमा तपाइका मुख्य प्राथामिकताका विषयहरु के हुन् त ?
मैले अघि पनि भने सकेँ, भौतिक पूर्वाधारको विषय मुख्य हो । कति सुरु भएको छ । कति प्रक्रियामा छन् । कति नयाँ प्रारम्भ गर्छाँै । मानवीय विकासका काम जोड दिने छौ । हामीले पाँचखालसम्म सुरुङको विषयहरु साथै यहाँ खानेपानीका विषयहरु जोडेका छौँ । त्यस्तै मदनभण्डारी विश्वविद्यालय, पलाञ्चोक क्षेत्रका विकास र संरक्षण, मण्डनका स्वास्थ्य शिक्षा, कृषि रोजगारी, पर्यटन, भुम्लुमा आवश्यक भौतिक पूर्वाधार, सुनकोसी परियोजना, दोलालघाट संरक्षण तथा यहाँको विकास धुलिखेलको पर्यटकीय तथा भौतिक विकासमा जोडि दिदै आएका छौं र सोही अनुरुप हामी सरकारमा हुँदा काम पनि गरेका छौ । पर्यटन पूर्वाधार, कृषि विकासका विविध पक्षमा काम गर्ने नै छौँ । सिचाइ, समयमा नै रासायनिक मल तथा बीउ व्यवस्थापनदेखि बजारीकरणसम्म नागरिकसँग हातेमालो गर्ने छौ ।

– रोजगारी सिर्जनाको विषयमा कुनै योजना बनाउनुभएको छ ?
विकास रणनीतिमा रोजगारी सिर्जना हाम्रो मुख्य प्राथामिकतामा रहन्छ । अहिले गठबन्धनको एजेण्डा जस्तो ‘फ्री भिजा, फ्री टिकट’को कुरा हाम्रो हुदैन । हामी रोजगारी देशमा नै सिर्जना गर्ने छौँ । हाम्रो मात्रै यस्तो पार्टी हो, यसले देशमा नै रोजगारी सिर्जना गरेर आम नागरिकको जीवनस्तर उठाउने काम गर्ने योजना बनाउँदै काम गर्छ । यही दक्ष जनशक्ति उत्पादन गर्दै यही रोजगारी सिर्जना गर्छौँ । चाहे त्यो पर्यटन व्यवसायमा होस्, चाहे त्यो मेडिकल फिल्डमा, चाहे त्यो कृषि क्षेत्रमा नै, चाहे त्यो अन्य उद्योग धन्दामा नै । संविधानले नै प्रत्याभुत गरेको रोजगारी व्यवस्थापनदेखि समाजवादको सपना हामी पूरा गर्ने अभियानमा लाग्ने छौँ । राष्ट्रिय पूँजी निर्माण, कृषि, पर्यटन अन्य उद्योग सञ्चालन, सहुलियतमा ऋणको व्यवस्थापन, दीर्घकालीन रणनीति हाम्रो हो । सोही अनुसार यो क्षेत्रमा हामी काम गर्ने छौँ ।

अन्त्यमा, आफ्ना मतदातालाई के भन्नु हुन्छ ?
हामी यो निर्वाचन क्षेत्रमा जस्तो भविष्य देखेर चुनावी मैदानमा छौँ, त्यो भविष्य कोरेर एउटा उचाइमा पु¥याउछौँ । सबै वर्गका नागरिकको भविष्य निर्माणमा हाम्रो भुमिका तपाईंहरुको अपेक्षाअनुसार पूरा गर्ने छौँ । स्वभाविक रुपमा नागरिकका अपेक्षा अनुसार दीर्घकालीन रुपमा जनतासँग एकाकार भएर काम गर्छौँ । जनताको निराशालाई चिर्दै निराशालाई आशातर्फ लैजाने छौँ ।
( खबर चाैतारी साप्ताहिकबाट)

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..