काभ्रेपलाञ्चोक – नेपाली लोक गायनका क्षेत्रमा बेग्लै पहिचान बनाएका गायक हुन् बिरही कार्की । उनले सिर्जना गरेका धेरै गीतहरुले श्रोता दर्शकको मन जितेका छन् । २०५३ सालमा ‘सरर मिनी बसै’ मा बोलको गीतबाट संगीतमा होमिएका बिरहीले सयौं गीत सिर्जना गरिसकेका छन् । सुनखानीमा सुन, आमा तिमले लगाएको चुरा, पिपल पात फरर, विन्धवासिनी, मायाको नाम जपियो, मनकामना माई, मायालु हजार, भन्देऊ के हो माया, जुनकिरी, एक्लै छु आमाको साथ छैन , गुरासँ फुल्ने ठाउँ तिर लगायतका थुप्रै गीतहरु लोकसंगीत क्षेत्रमा कालजयी बनेका छन् । उनले २०७० सालमा ‘विरही एकल साँझ’ समेत गरिसकेका छन् । पछिल्लो समय सपरिवार अमेरिका बस्दै आएका बिरही यतिबेला नेपालमा छन् । पारिवारीक कामले नेपाल आएको मौकालाई पनि उनले संगीतप्रतिको मेहनत र लगनशिलता झनै बलियो छ बनेर दर्शाउन भ्याए । यतिबेला सुगमसंगीतकी हिट गायिका अन्जु पन्तसँगको स्वर मिसाउँदै ‘मायाको ढोका खोलिदेउ’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । मर्मश्पर्शी भावका लोक गीतबाट ख्याती कमाएका उनै गायक बिरहीसँग ‘मायाको ढोका खोलिदेउ’ मा केन्द्रीत रहेर नव क्षितिज साप्ताहिको लागि अरबिन्द्र गौतमले गरेको कुराकानी

 

० मायाको ढोका खोलिदेउ गीत सार्वजनिक गर्नुभयो, कस्तो प्रतिक्रिया पाइरहुन भएको छ ?
भाद्र १७ गते हामीले ‘मायाको ढोका खोलिदेउ’ गीत सार्वजनिक गर्यौं । सार्वजनिक गरेसँगै तपाईंहरु मिडियाकर्मीले राम्रो साथ दिनु भएको छ । श्रोताबाट पनि राम्रो प्रतिक्रिया पाएको छु । सुगम संगीतकी सदाबहार गायिका अन्जु पन्तसँग मेरो भ्वाइस पनि म्याच भएको भन्ने खालका प्रतिक्रिया आएका छन् । गीतको समग्र पाटोलाई दर्शक श्रोताले रुचाइदिनु भएको छ ।

 

० मर्मस्पर्शी तथा दुःखका गीतबाट नाम कमाउनु भएको तपाईंले यतिखेर भने रोमान्टिक भावको गीत गाउनु भएछ, किन ? आफ्नो धार परिवर्तन गर्नु भएको हो ?
मैंले गाउने लोक गीत, लोकदोहोरी गीतमा मार्मिक र रमाइला सबै किसिमका गीत गाएको छु । मायालु हजार, जुनकीरी, गुराँस फुल्ने ठाउँनिर लगायतका थुप्रै दोहोरी गीत गाएको छु । आफैंले संकलन गरेका गीतहरु– माया बराबर, डाँफे कस्तुरी, मनकामना केवलकार डाँडैमा बिजुली आयो, लगायतका गीत पनि चर्चित छन् । ति मध्ये मार्मिक लोक गीतले मेरो परिचय बलियो बनाएको हो । मेरो रोजाईकै कुरा गर्नुपर्दा पनि मेरो धेरै झुकाव लोक गीतमा नै हो । सुनखानीमा सुन, आमाको सिरिजहरुले बिरही कार्कीको परिचयलाई बलियो बनाएकाले पनि मलाई तपाईंले गरेको जस्तै प्रश्न मैंले धेरै सुन्नु परेको छ । मेरा यसभन्दा अघिका गीतहरु खोज्नु भयो भने तपाईंले सबै किसिमका गीतहरु पाउन सक्नु हुन्छ । मैंले धार परिर्वतन गरेको होइन । यो भन्दा अघि पनि रोमान्टिक दोहोरीहरु पनि गरेको छु । यसो त मैंले गाएका सबै गीतहरु मौलिक नै छन् । सुगमसंगीतकी सुप्रसिद्ध गायिकालाई लोक गीतमा राखेको हुनाले पनि मानिसमा यो किसिमको सोच आएको हुन सक्छ ।

० नेपालमा राम्रो नाम कमाउनु भएको तपाईं अमेरिका जानुपर्ने बाध्यता थियो र ?
अमेरिका जाने बाध्यता केहि थिएन । नगएको भएपनि हुन्थ्यो । परिवारको खुसीको लागि अमेरिका गएँको हुँ । अमेरिका गए पनि म संगीतबाट टाढिएको भने छैन । मेरो एउटा आमाको नाममा रहेको फूलमाया कार्की फाउण्डेसन पनि छ । फाउण्डेसनका लागि सामाजिक भावनाले खर्च गर्न पनि आम्दानी आवश्यक छ र परिवारको लागि भविष्यमा केही होला की भनेर गएको हो । मेरो सांगीतिक व्यक्तित्वलाई नियाल्नुभयो भने मँ कहिले पनि व्यवसायिक किसिमले भन्दा पनि गुणात्मक तरिकाले संगीतमा लागें । जसले मलाई संगीतबाट उच्च नाम दियो, सम्मान दियो तर दाम भनें ठीकै कमाएँ । यसकारणले पनि म अमेरिका गएको हुँ ।

० अमेरिका जाने निर्णय गलत थियो भन्ने लाग्दैन ?
अहँ लाग्दैन । हरेक व्यक्तिको पहिलो प्राथमिकता आफ्नो परिवार हो र हुनुपर्छ अनि मात्र उ खुसी हुन सक्छ । आफ्नो परिवारको खुसी र भविष्यको लागि लिएको निर्णय कसरी गलत हुन सक्छ र ?

० दर्शक श्रोताले तपाईंलाई बिर्सनु भएको हो ?
मलाई कता कता डर थियो, कतै मलाई मिडियाले नचिन्ने त होइन भन्ने । तर यो मेरो भ्रम मात्र रहेछ । पुरानाले मात्रै होइन मिडियाका नयाँ साथीले समेत मलाई उतिकै खोज्नु भयो । मेरो कामलाई प्राथमिकता दिएर प्रमोसन गरिदिनु भयो । यतिन्जेलको योगदानको बारेमा चर्चा गरिदिनुभयो । मेरो सिंगो करिअरलाई समेटेर समाचार संप्रेषण गर्नु भएको छ । दर्शक श्रोताले पनि उस्तै गरि आमा, सुनखानीमा सुन लगायतका पुराना गीतहरु सम्झिनु भयो । अब कसरी भनौं मलाई बिर्सनु भयो भनेर ? फेरि मलाई नबिर्सनुमा कारण पनि छ – म अमेरिका गएपनि संगीतबाट टाढिएको छैन । सिर्जनाहरु आइरहेका छन् । मिडिया र दर्शक श्रोताको यो विशाल मायाप्रति सदैब ऋणी छु ।

० अमेरिका जानुअघिको नेपाल र अहिलेको नेपालको सांगीतिक बजारमा के भिन्नता पाउनु भयो ? आजको नेपाली संगीतबारे यहाँको केही विचार ?

हिजोको संगीत बजार र अहिलको संगीतको बजारमा आकाश पातालको फरक पाएँ । हिजो हामी चकटीमा बसेर गीत गाउँथ्यौं । अडियो बजारदेखि भिडियो बजार हुँदै सिआरबीसम्मको फराकिलो बजार थियो । कलाकारहरुप्रति सम्मान बिशाल थियो । पछिल्लो केही बर्षदेखि नेपाली गीतसंगीतमा भाइरल र ट्रेण्डिङको ट्रेन्ड चलिरहेको छ । लामो समयसम्म चल्ने गीत भन्दा पनि छोटो समयमै भाइरल हुने र चर्चामा आउने गीतसंगीतको खोजीमा गायक–गायिका लागेको पाएँ । सकारात्मक रुपमा भाइरल र ट्रेण्डिङमा आउनु त यो क्षेत्रकै लागि राम्रो हो । तर, कस्तो गीत गाउँदा आफूलाई लामो समयसम्म श्रोताले संझिन्छन् भन्दा पनि के गाउँदा भाइरल भइन्छ भन्ने शैलीलाई यतिबेलाका गायक–गायिकाले प्राथमिकतामा राखेको देखिन्छ । यसले, नेपाली गीतसंगीतको स्तरलाई कहाँ पुर्याउँछ भनेर सोच्नु पर्ने अवस्था सिर्जना भएको छ । कलाकारप्रति हिजो गरिने सम्मानमा निकै ह्रास आएको महशुस गरें 

० नेपालमा बसाई कति छ ?
म श्रीमती छोरा र छोरी सहित २ महिनाका लागि नेपाल आएको हुँ । चाँडै नै फर्किदैछु । दुई महिनाको अन्तरालमा मैले दुईवटा गीत गरें । एउटा मायाको ढोका खोलिदेउ जुन विश्वभरका दर्शक श्रोता सामु आइसकेको छ । अर्को लोकगीत रहेको छ, जसले समाजभित्रका विभिन्न मनहरुलाई गीतमार्फत् व्यक्त गरेको छ । त्यो दशैंताका ल्याउने सोचमा छु ।

० मायाको ढोका खोलिदेउ कस्तो गीत हो ?
सरल खालको मौलिक गीत हो । मायालु गीत हो । संगीतकै परिधीभित्र बसेर अन्य दोहोरी गीतका प्यार्टन भन्दा भिन्न शैलीमा आएको छ । थोरै भिन्नता ल्याउँ भनेर यो गीतले दर्शक श्रोताको मनमुटुमा बस्ने छ भन्ने आशा गरेको छु । हामी कसैसँग रुखो रुपमा प्रस्तुत भयौं भने निश्चय पनि उसको मन दुख्छ । संसारका सबै मानिससँग हुनै पर्ने कुरा मिठो बोली र हाँसो हो भन्ने सन्देश यो गीतले दिएको छ । गीतमा गायिका अन्जु पन्तले मलाई साथ दिनु भएको छ । शंकर बिसीले निर्देशन गरेको गीतको भिडियोमा शिल्पा पोखरेल र सागर लम्साल ‘बले’ को अभिनय रहेको छ ।

० सांगीतिक क्षेत्रमा तपाईंले बिर्सनै नसक्ने नामहरु सम्झिदिनुस् न ?
सांगीतिक क्षेत्रको यो यात्रासम्म आइपुग्दा मैंले बिर्सनै नहुने र नसक्ने नामहरु धेरै छन् । सबैभन्दा पहिलो बिर्सन नहुने त मैंले दर्शक श्रोताको मायालाई हो । मेरा कामलाई उहाँहरुले नसुनिदिनु भएको भए आज म कहाँ गायक बिरही कार्की बन्न सक्थें र ? त्यस्तै सञ्चार क्षेत्रका साथीहरु जसले मलाई चिनाउन हौस्याई रहे, साथ दिइरहे अनि झक्झकाई रहे ।

 

० भावी योजना के छ ?
खासै ठुलो योजना त केहि छैन । पहिले लोकगीत संगीतमा जसरी बिरही कार्कीलाई बनेर चिनिएँ, बस् यहि नामलाई सदैव जोगाउने प्रयासमा हुन्छु । मेरो कामले लोकसंगीतमा लाग्ने कसैले नाक खुम्च्याउनु नपरोस् । केहि वर्ष अमेरिका बसेर स्थायीरुपमा नेपाल फर्किने परिवारसँग सल्लाह छ । दशैंताका नयाँ गीत ल्याउने सोचमा छु ।

० अन्त्यमा तपाईंलाई माया गर्ने श्रोतालाई के भन्न चाहनुहुन्छ ?
सकारात्मक सन्देश दिने, मौलिकता बोकेका गीत संगीतलाई अझै धेरै माया गरिदिनु होला । मैंले भर्खरै प्रस्तुत गरेको ‘मायाको ढोका खोलिदेउ’ लाई पनि हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला । गीतलाई मेरो आफ्नै युट्युब च्यालन ‘बिरही कार्की’ मार्फत सार्वजनिक गरेको छु । अन्त्यमा मेरा बिचारहरु राख्ने अवसर दिनु भएकोमा तपाईं लगायत सिंगो टिमलाई धन्यवाद । 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..